काठमाडौं । अहिलेको पढेलेखेका युवा जनशक्ति स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशिन बाध्य छन् । पढेर स्वदेशमै केही गरुँ भन्ने हुँदाहुँदै पनि । तर, स्वदेशमै आफुले पढेर आर्जन गरेको ज्ञानलाई आफ्नो पेशा र कर्ममा बदल्ने हो भने विदेशिनु पर्दैन भन्ने उदाहरण बनेका छन्, कावासोतीका नगरपालिका–१६ का सन्देश तिमिल्सना ।
उनले आफ्नो अध्ययन चितवनको रामपुर कृषि क्याम्पसमा गरेँ । कृषि विषय रोजेर चार वर्षे ‘ब्याचलर’ तह अध्ययन पूरा गरे । बिएस्सीसम्मको पढाई पूरा गरेको तिमिल्सिनाको परिचय अहिले बदलिएको छ । उनको परिचय कृषिको विद्यार्थीको रुपमा मात्रै सिमित रहेन, अहिले उनी सफल कृषक र कृषि उद्यमी बन्न सफल भएका छन् । आफुले पढेको कुरालाई व्यवहारिक कार्यान्वयन ल्याउनुपर्छ र आफुले पनि कृषिकर्म गर्नुपर्छ भन्ने सानैदेखिको सोच थियो ।
कृषि पढे पनि विदेश जाने चाहना उनमा नभएको होइन, थियो नै । त्यसका लागि उनले विदेश जानका लागि ‘जियारी कोर्स’ पनि गरेको सन्देश सुनाउँछन् । भन्ने बित्तिकै विदेश जाने भिसा आएन । त्यस अवधिमा उनी जुम्ला, बैतडी र डोटीलगायतका जिल्लामा जागिर गर्न गए ।

ती जिल्लामा उनले यूएसआईडीको विभिन्न परियोजनामा पनि काम गरे । उनले करिब साढे २ वर्ष बिकट जिल्लाहरूमा पुगेर काम गरे । सिक्दै पढ्ने र त्यसलाई काममार्फत नै व्यावहारिक बनाउने उनको सोच थियो ।
त्यसअनुसार उनले वि.सं २०७३ मा आफ्नै लगानीमा एक रोपनी जग्गा लिँजमा लिए । र, त्यसमा ‘नेटहाउस’ बनाएर विभिन्न तरकारीका विरुवा र तरकारी उत्पादन सुरु गरे । ‘सुरुमा एक रोपनी लिजमा लिएर ‘नेटहाउस’ बनाएर ‘फार्मिङ’ सुरु गरेको हो’ उनले भने, ‘सुरु गर्दा लगानी मेरो आफ्नो जागिरबाट नै बचत गरेको पैसा थियो ।’
आफुले पढेको कृषिज्ञानलाई उनले व्यवहारिक रुपमा आफ्नो कर्म र पेसामा लगाएका कारण उनको परिक्षणको तरकारी खेती राम्रो भयो । त्यसपछि उनले आफ्नो कृषिकर्मलाई विस्तार गर्दैै लगेका छन् । कावासोती नगरपालिका–१६ मा उनको कुल ३ बिघा जमिनमा तरकारी, फलफूल र खेतीपाती छ । मुख्य गरी टमाटर, भन्टा, पेप्सिकम, काक्रोलगायतका तरकारी उनले उत्पादन गर्दै आएका छन् ।

उनले सरकारबाट सहुलियतपूर्ण कृषि कर्जा लिएर आफ्नो कृषिलाई थप विस्तार गरेको बताउँछन् । उनले अहिले व्यवसायिक रुपमा आफुले उत्पादन गरेका तरकारीहरु बजारमा पठाउँछन् । सुरुका दुई वर्ष विश्वव्यापी कोरोना महामारीले तरकारी बेच्न नपाएको उनको गुनासो छ । ‘सहज भएको बेला तरकारीहरु राम्रै गइरहेको थियो। तर, दुईवर्ष कोरोनाका कारणले असहज परिस्थिति सिर्जना भयो । त्यो बेला बजार बन्द हुँदा बेच्न पाइएन् ।’ उनले भने ।
उनका अनुसार, अहिले सबै गरेर ३ विघा क्षेत्रफल छ । अहिले खेती गर्ने ‘मोडल’ नै परिवर्तन भइसकेको उनी बताउँछन् । ‘सुरुमा उत्पादनमा मात्र ‘फोकस’ भयौं । त्यसले खेतीको सिकाई र प्राविधिक ज्ञान भयो । जलवायुसम्वन्धि ज्ञान पनि लिन पायौं ।’ उनले बताए । उनको फार्ममा जैबिक विषादी प्रयोग गरिएका तरकारीहरु उत्पादन हुन्छन् । हालसम्म उनले जग्गा, संरचना, सिँचाइलगायतका कृषि कर्ममा झन्डै ६० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
पीएमएमपी कार्यक्रमको सहयोग
उनले कृषि अध्ययन गरेर कृषिकर्म गरेपछि दुई आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आर्थिक सहयोग गरिरहेको छ । गत आर्थिक २०७७/०७८ मा २ लाख र आव २०७८/०७९ मा साढे तीन लाख रुपैयाँ पीएमएमपी कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त गरेको उनको भनाई छ । उक्त सहयोगमार्फत थोपा सिँचाइ, मोटर, पाइपलगायत जडान गरिएको छ । परियोजनाले किसानलाई मेसिन, उपकरणलगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

सिकाईको केन्द्र बनाउने योजना
किसानलाई सहयोग गर्ने उद्धेश्यले बृहत रुपमा नर्सरीको क्षेत्र विस्तार गर्ने उनको योजना छ । तरकारी खेती गरिरहँदा माटोको शुरक्षा, विरुवा उत्पादन, खेतीको तरिका र आइपर्ने जुनसुकै प्राविधिक समस्या किसानलाई आइपर्ने सक्छ । त्यसका लागि चरणवद्ध रुपमा नर्सरी विस्तार गर्ने र किसानलाई खेती गर्दा आइपर्ने समस्याका लागि प्राविधिक रुपमा तालिम र सुझाव दिने उनको योजना छ । त्यस्तै, पीएमएमपी परियोजनामा ‘इन्र्टनसीप’ कृषि पढेका दुई जना विद्यार्थी पनि उनको फार्ममा शिक्षण सिकाई गरिरहेका छन् ।

व्यवसायिक रुपमा खेती गर्ने किसानलाई सरकारी संयन्त्रमार्फत जग्गा उपलव्ध गराइपर्ने उनी बताउँछन् । ‘व्यावसायिक रूपमा खेती गर्न चाहनेलाई सरकारी संयन्त्रमार्फत जग्गा उपलव्ध हुनुपर्यो ।’ उनले बताए । पीएमएमपी परियोजनाको उद्धेश्य पनि यसक्षेत्रमा नर्सरीको उत्पादन केन्द्र र प्राविधिक सिकाइको स्रोत केन्द्रका रुपमा विकास गर्नु हो । त्यसका लागि विरुवा वा नर्सरी बनाउने गरी प्रक्रिया अघि बढाइएको तिमिल्सिना बताउँछन् ।