मल अभाव र मुल्यवृद्धि विरुद्व किसान आन्दोलित, अखिल नेपाल किसान महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

२०७९ जेष्ठ २० गते प्रकाशित

काठमाडौं । धान रोप्ने बेला हुँदासम्म पनि किसानले रासायनिक मल नपाएको र पछिल्लो मूल्यवृद्धिविरुद्व किसान आन्दोलित बनेका छन् ।

अखिल नेपाल किसान महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै मलको चरम अभाव र मूल्यवृद्धिका कारण किसान तथा आम जनता प्रताडित हुँदै गएको भन्दै आन्दोलनमा होमिएको जनाएको छ । किसानले मूख्य बाली लगाउने समयमो देशभरी देखिएको रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा देखिएको महंगी र मूल्यवृद्धि विरुद्ध महासंघले चरणबद्ध आन्दोलन गर्ने भएको हो ।

सरकारले किसान र कृषिक्षेत्रका समसया समाधान गर्न उचित कदम चाल्न नसकेको कारण किसान र आम जनताले सास्ती भोग्नुपरेको महासंघको ठहर छ । त्यसकारण, वर्तमान समयमा किसानले भोग्नुपरेका अति गम्भिर समस्यालाई उठान गर्दै महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको अध्यक्ष प्रेम दंगालले जानकारी दिए । ‘किसानले धान रोप्ने बेला हुन लाग्यो, मल पाउन सकेको छैनन्, महंगी र मूल्यवृद्धि अचाक्ली छ । त्यसलाई नियन्त्रण सरकारले गर्न सकेको छैन् ।’ उनले भने, ‘किसानका गम्भिर समस्या समाधान नहुँदा सम्म चरणबद्ध आन्दोलन गरिनै रहन्छौं ।’

महासंघले पहिलो चरणमा किसानका वर्तमान समस्या र मागहरुसहितको ज्ञापनपत्र प्रधानमन्त्री, कृषिमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीले प्राप्त गर्ने गरी बुझाउने छ । मलको चरम अभाव र मूल्यवृद्धिको बिषय र यसको प्रभावको बारेमा आमजनतालाई सूसूचित गर्न विभिन्न तहमा पत्रकार सम्मेलन आयोजना गर्ने छ । दोस्रो चरणमा सवै प्रदेशमा मुख्यमन्त्री कार्यालयमा धनाइ गर्ने र सार्थ जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने छ ।

र, तेस्रो चरणमा मल आपूर्तिको जिम्मा पाएका सरकारी निकायहरु साल्ट्र ट्रेडि कर्पोरेसन र कृषि सामग्री कम्पनीका डिष्पोहरुमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक ढंगले आन्दोलन गर्ने महासंघले जनाएको छ ।