काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्माले वीरगन्जमा बन्द रहेको कृषि औजार कारखाना पुनः सञ्चालन गर्न सकिने बताएका छन् । वि.सं २०५९ सालमा नै उद्योग सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भनेर गरिएको अध्ययन प्रतिवेदनले पनि पुनः सञ्चालन गर्न सकिने देखिएको भन्दै शर्माले अहिले पनि पुनः सञ्चालन कसरी गर्ने भनेर छलफल भइरहेको बताए ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैठौं साधारण सभामा बोल्दै उनले कृषि औजार कारखाना पुनः सञ्चालन गरेर तीन वर्षमा नै त्यसलाई नाफामा लैजान सकिने बताए । तर, उक्त कारखाना सञ्चालन कुन मोडलमा गर्ने भनेर अध्ययन हुनुपर्ने बताए ।
कारखाना पुनः सञ्चालनका लागि कृषि मन्त्रालय भन्दा बाहिरका मन्त्रालयको बढी समन्वय र चासो हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
त्यस्तै, उनले किसानले रासायनिक मल असार पहिलो साताभित्र पाउने बताए । अहिले देशभर मलको अभाव रहेको बताउँदै उनले मलको खरिद प्रक्रिया अघि बढिसकेको र नेपाल सरकारले भारत सरकासँग(जीटुजी)मार्फत पनि मल छिट्टै आउने उनले बताए ।
मल खरिद र वितरणको जिम्मा निजीक्षेत्रलाई दिने बिषयमा आफु सकारात्मक रहेको बताए । विगतका वर्षमा भन्दा यसपाली कृषिक्षेत्रमा राम्रो बजेट आएकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए ।
सभामा संघका अध्यक्ष खोजराज कटुवालले कृषि औजार कारखाना निजीक्षेत्र वा नामियालाई नै सञ्चालनको जिम्मा दिन सचिवसमक्ष आग्रह गरे ।
नामियाले कारखाना सञ्चालनको जिम्मा पाएमा राम्रोसँग चलाउने र नाफामा पुर्याउने बताए । कृषिको आधुनिकीकरण बिना नेपालको अर्थतन्त्रले विकास गर्न नसक्ने हुँदा कृषि मेसिन, उपकरण र औजार खरिदका लागि राज्यको नीतिमा केही सुधार गर्नुपर्ने बताए ।