गुप्तप्रसाद रेग्मीको सफलताः विदेशमा फुरेको कृषिको ‘आइडिया’ जसले दिँदैछ लाखौं आम्दानी

२०७९ जेष्ठ २३ गते प्रकाशित

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरका गुप्तप्रसाद रेग्मी कुनै बेला सडक, भवन, बिजुली र पोललगायतका कामको ठेक्कापट्टा गर्थे । ठेक्कापट्टाका काम गरेर राम्रो आम्दानी गरिरहेकै थिए। उनी घुमघामकै सिलसिलामा कतार पुगे ।

विदेशमा रहँदा उनले एक दिन बजार गएका बेला पहिलो पटक एभोकाडो फल चाखे । पहिलो पटक विदेशी भूमिमा त्यो फलको उनलाई त्यति स्वाद भएन् । उनी नेपाल फर्के र दोस्रोपटक पनि कतार नै गए । दोस्रो पटक उनले एभोकाडो फलको स्वाद मिठो माने ।

त्यतिबेला नै उनले नेपाल फर्केर एभोकाडो खेती गर्छु भन्ने उनको सोच आइसकेको थियो । तर, उनी विदेशी भूमिमै थिए । उनी कतार मात्रै होइन्, तीन महिनाका लागि अष्ट्रेलिया पनि गए, जहाँ उनका छोरीहरु अध्ययनकै सिलसिलामा पुगेका छन् । अष्ट्रेलियामा रहँदा उनले एभोकाडोको बारेमा बुझ्ने अवसर पाए ।

र, नेपालमा आएर व्यवसायिक रुपमा कृषि गर्न सकिन्छ भनेर उनी लागे । फलस्वरुप, उनले गैडाकोट नगरपालिका–१८ बसेनीमा जग्गा हेर्दै नहेरी जग्गा लिए । ‘अष्ट्रेलिया र कतारमा हुँदा एभोकाडोको बारेमा बुझ्ने अवसर पाएँ’ उनले भने, ‘यति मिठो फल नेपालमै किन नलगाउने त भनेर १३ रोपनी जग्गा हेर्दै नहेरी लिएँ ।’ सुरुमा उनले एभोकाडो मात्र लगाउन १३ रोपनी १२ आना जग्गा आफ्नै नाममा ‘पास’ गरे ।

नेपालीलाई खानमा बानी पार्न केही समय लाग्ने बुझेर उनले सुरुमा २०/२५ वटा बोट मात्रै एभोकाडो लगाए । र बाँकी जग्गामा सुन्तला र कागती लगाए । त्यसपछि ९ रोपनी जग्गा फेरी थपेर त्यहाँ निवुवा, कागत, सुन्तला र लप्सी रोपे । अझै क्षेत्र बढाउनुपर्छ भनेर उनले अर्को ठाउँमा थप २९ रोपनी जग्गा किनेर २०० बोट सुन्तला र ८०० बोट कागती लगाए ।

सुरुमा दश लाख, चार वर्षमा करोड बढी लगानी

ऐलानीसहित गरेर उनको हालसम्म कुल ८० रोपनी जग्गा सुन्तलाजातको फलफुल लगाइरहेका छन् । उनको फार्ममा ३ हजारभन्दा बिरुवा छन् । सुरुमा जग्गा, बाटो निर्माण र संरचनामा १० लाख खर्चेका रेग्मीले पछिल्लो चार वर्षमा एक करोडभन्दा बढी लगानी गरिसकेका छन् ।

पुरै तारजाली लगाएर फार्मको शुरक्षा गरिएको छ । उनले फलफुल टिपेर राख्ने तीन वटा घर निर्माण गरिसकेका छन् । मानिस जन्मेपछि केही न केही नयाँ काम गर्नुपर्छ भन्ने उनको भनाई छ । भन्छन, ‘मानिस जन्मेपछि एउटा नयाँ काम गर्नुपर्छ भन्ने लाग्छ । अहिले म ६३ वर्ष भएँ, आफैँ गाडी चलाएर हिड्छु । शरिर पनि मोटो छ ।’

व्यापारमा नाफाघाटा भन्दा पनि देशका लागि केही योगदान दिनुपर्ने उनको आशय छ । ‘मैले जति पनि लगानी गरेको छु, त्यो सबै नाफा होला भनेर गरेको होइन्, व्यापार गरेपछि नाफा÷घाटा दुवै हुन्छ । तर, २० क्विन्टल कागती उत्पादन भयो र मलाई नाफा नआए पनि हाम्रो देशले २० क्विन्टल कागती विदेशबाट त ल्याउन परेन कमसेकम ।’ उनले भने,‘मैले रोपेर निकालेको विरुवाको अक्सिजनले विश्वभरीको मानव जातिलाई कल्याण गर्छ भन्ने हिसावले म ढुक्क छु ।’ अहिले मुख्यगरी उनले कागती खेतीमा बढी ‘फोकस’ गरिरहेका छन् ।

पछिल्लो समय भने एभोकाडोको बिरुवा मर्न थालेको उनको गुनासो छ । ‘४ वर्षमा बल्ल फल्न सुरु गरेको एभोकाडोका बिरुवा मर्ने र असर देखिन थालेका छन् । प्राविधिक लगेर देखाउने सोचिरहेको छु ।’ उनले भने ।

अघिल्लो वर्ष लाखको कागती बेचे

उनले कागती र एभोकाडोसहित उनले सुन्तला, लप्सी, निबुवा र रामबुटान(मलेसियन लिँची) को उत्पादनमा समेत हात हालेका छन् । गत वर्ष उनले एक लाख रुपैयाँको कागती बेचेका थिए । अहिले गत वर्षको भन्दा अझै राम्रो आम्दानी हुने उनको अनुमान छ ।

सुरुवातमा उनले वार्षिक २० लाख रुपैयाँ आम्दानी हुन्छ भन्ने योजना बनाएर सुरु गरेका थिए । तर, जग्गाको क्षेत्र विस्तार, उत्पादन अवधि, कोरोना महामारीलगायतका कारणले त्यो पूरा हुन सकेन् । तथापी, अबको तीनवर्ष पछि वार्षिक ४० लाख रुपैयाँ आम्दानी हुने उनको आकंलन छ ।

यसअघि वडा सदस्य समेत रहेका उनका दाजु डा. अनन्तप्रसाद रेग्मी कृषिको ‘सोयल’ बैज्ञानिक हुन् । उनी पढाईमा ठिकठिकै थिए, तर, कृषि पढाईमा उनी अब्बल नै थिए । ‘मेरो दाजु डा. अनन्तप्रसाद रेग्मी कृषिको ‘सोयल’ साइन्टिस हो । म पढ्दा खेरी अंग्रेजीमा कहिल्यै पनि पास भइन् । कृषि बिषयमा जहिले पनि ८०/९० नम्बर आउँथ्यो ।’ उनले भने, ‘आफुले जानेको कृषिकर्म किन नगर्ने भनेर लागेँ ।’

आगामी २०७९ भदौदेखि पुससम्म ५ लाख रुपैयाँ कागती र सुन्तला बिक्रि गर्ने योजना सुनाए । उनले धनकुटा र पर्वतको लेखफाँटबाट सुन्तलाजातको बिरुवा ल्याउने गरेका छन् । उनको त्यहाँका पाँच जना स्थानीयलाई समेत रोजगारी दिइरहेका छन् ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग, १५ लाख अनुदान सहयोग

व्यवसायिक रुपमा सुन्तलाजातको फलफुल खेतीमा उनले आधुनिक प्रविधि र ‘मेकनाइजेसन’ को प्रयोग गर्दै आएका छन् । जहाँ, सरकारले पनि उनलाई अनुदान सहयोग गरिरहेको छ । खासगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनीजस्ता व्यवसायिक किसानलाई कृषि मेसिन, औजार र विरुवामा अनुदान दिइरहेको छ ।

खसगरी, पावर स्प्रे, ट्याक्टर, थोपा सिँचाइ, मल्चिङ प्लाष्टिकलगायतमा उनले ५० प्रतिशत अनुदान पाएका छन् । थोपा सिँचाइमा कृषि ज्ञान केन्द्र तनहुँले पनि उनलाई सहयोग गरेको छ । २ वटा प्लटका लागि थोपा सिँचाईमा प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनाले सहयोग गरेको छ । त्यस्तै,अघिल्लो वर्ष बिरुवामा ५० प्रतिशत र यसवर्ष शतप्रतिशत नै अनुदानमा पाएको उनले बताए ।

आर्थिक वर्ष २०७५/०७६ सालमा ५०० मिटर तल खोला जेनेरेटरले बिजुली निकालेर पानी तानेर बिजुली निकालिएको छ । पानी तान्ने मेसिन पनि परियोजनाले अनुदानमा उपलव्ध गराएको छ । आव २०७६/०७७ मा पोखरी निर्माणका लागि परियोजनाले २ लाख रुपैयाँ अनुदान दिएको उनी बताउँछन् । आव २०७७/०७८ मा बिरुवा र मलमा सतप्रतिशत अनुदान पाएको उनको भनाई छ ।

मोटामोटी रुपमा पछिल्लो तीन आर्थिक वर्षमा परियोजनाबाट आफुले १५ लाख रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको रेग्मीले बताए । समयमै मलखाद, बिऊ र सिँचाईको सुविधा सरकारले पुर्याइदिने हो भने किसान आफैं व्यवसायिक बन्ने उनको तर्क छ
‘जस्तो ठाउँमा पनि सिँचाईको सुविधा पुर्याइ दिनुपर्यो । समयमै मल र बीऊ उपलव्ध गराइदिनुपर्यो र बजारीकरणमा पनि सहयोग पुर्याइ दिने हो भने किसानको लागि अरु केही गर्नै पर्दैन । बजार एकदमै राम्रो छ ।’ उनले भने ।

निर्यातको योजना

पहिलो त उत्पादन नै बढाउने र भविष्यमा देशबाहिर पनि निर्यात गर्ने उनको योजना छ । कागती संकलन गरेर ग्रेडिङ र लेबलिङ गरेर कतारमा पुर्याएर ‘टेस्ट’ भइसकेको उनले बताए । ‘मेरो कागती कतार गएर टेस्ट भइसक्यो । संकलन गरिसकेपछि ग्रेडिङ र लेबलिङ गर्नुपर्छ ।’ उनले भने, ‘भविष्यमा निर्यात गर्ने मेरो सोच छ ।’ उनले गत वर्ष एक लाखको कागती घरबाटै बेचेको बताए । कागती टिपेर फेसबुकमा राखेपछि ग्राहक घरमै आएर खरिद गर्ने गरेको उनी बताउँछन् ।

‘मैले एक लाखको कागती बेच्दा कति जान परेन् । टिपेर ल्याउने फेसबुकमा हालेपछि घरैबाट आएर किनेर लगेँ । भारतबाट कति दिन पुरानो कागती किनेर खाएका मान्छे, यहाँको ताजा पाउँदा घरैबाट बेचेर सक्कियो ।’ उनले भने । त्यस्तै उनले पर्वतको लेकफाँटबाट बीउ ल्याएर ३ रोपनी जग्गामा आलु खेती समेत गरेका छन् ।