काठमाडौं । खाद्य स्वच्छता र सन्तुलित आहारको मूल नारा बोलीमा मात्र नभई व्यवहारमा लागू गर्नुपर्ने उपभोक्ताकर्मीहरुले जोड दिएका छन् । विश्व खाद्य स्वच्छता दिवशको मूल समारोह कार्यक्रमा बोल्दै उपभोक्ताकर्मीहरुले खाद्य स्वच्छता नीति नबनेसम्म उपभोक्ता ढुक्क हुने अवस्था नरहेको बताए ।
दिवशका अवसरमा उपभोक्ताकर्मी तथा कन्जुमर नेपालकी अध्यक्ष बिमला खनाललले उपभोक्ताले उपभोग गर्ने हरेक वस्तु स्वच्छ र गुणस्तरीय हुनुपने भनिए पनि त्यसो हुन नसकेको बताइन् । उनले बजारमा बिषादी र मिसावटयुक्त खाद्य पदार्थ तथा तरकारी फलफुलहरुका कारण उपभोक्ताको स्वास्थ्यमा नराम्रो प्रभाव परिरहेको बताइन् ।
त्यस्तै, राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका महासचिव बिष्णु तिमल्सिनाले अहिले बजार साँच्चीकै बजार जस्तो नभएको बताए । सरकारले जारी गरेको खाद्य ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उनले उक्त ऐन उपभोक्तामैत्री नरहेको बताए । उनले खाद्य स्वच्छताका नाममा उपभोक्ता ठगिने अवस्था आएको बताए। अर्का उपभोक्ताकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खाद्य स्वच्छता नीति नभएसम्म उपभोक्ता ढुक्क हुन नसक्ने बताए ।
उनले संघीयतापछि स्थानीय तहमा एक खाद्य प्राविधिक अहिलेको टड्कारो आवश्यकता रहेको बताए । सरकारले अहिलेका बजारमा हस्तक्षेप नगरेसम्म बजार नसुध्रिने उनले बताए । ‘उपभोक्ता हित एकपक्षले मात्र हुँदैन, यो सबैको साझा दायित्व हो । सरकारले अहिलेको बजारमा हस्तक्षेप नगर्ने हो भने झन बिग्रने अवस्था आउनेछ । दिवशलाइ उपभोक्ताको गुनासो सुन्ने संयन्त्र बनाएर वर्षैभरी सचेतना गराइनु पर्ने बताए ।’ उनले खाद्य स्वच्छता बोलिमा होइन व्यवहारमा लागू गर्नुपर्ने औल्याए ।
त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताले जे मिसाएर ल्याए पनि खान बाध्य भएको भन्दै उपभोक्ता सचेत हुन नसकेको बताए ।‘बजारमा जे पायो त्यहि बिषादी र मिसावटयुक्त वस्तुको उपभोग गर्न उपभोक्ता बाध्य छौं, त्यसमा सुधार नभई नहुने आवश्यकता छ ।’ उनले भने ।
विभागका पूर्व महानिर्देशक तथा प्राध्यापक टिकाबहादुर कार्कीले सबै नेपाली उपभोक्ता नै भएकाले सबै प्रतिवद्ध हुनुपर्ने बताए । ‘हामी सबै उपभोक्ताकर्मी हौं, सबै प्रतिवद्द हुनुपर्छ ।’ उनले भने । मूल समारोह समापन कार्यक्रमका सभापति तथा विभागका महानिर्देशक मोतिना वैद्य जोशीले उपभोक्ताले जे खाद्य वस्तुको उपभोग गर्छ, उ पनि त्यस्तै बनने बताइन् । उनले एकै थरिको खाना खानुभन्दा सन्तुलित र स्वच्छ आहारबिहारमा ध्यान दिनुपर्ने बताइन् । ‘एकै थरिको खान भएन, सन्तुलित आहार र स्वच्छता हुनुपर्छ ।’ उनले भनिन् ।
विश्व स्वास्थ संगठन(डब्ल्यूटीओ)ले प्रतिव्यक्ति प्रति दिन नुनको उपभोग ५ ग्राम हुनुपर्ने भनिए पनि नेपालीले प्रतिदिन साढे ९ ग्रामसम्म उपभोग गरिरहेको बताइन् । उपभोक्ता आफैँले पनि सचेत हुन जरुरी रहेको उनको भनाई छ ।