काठमाडौं । अब काठमाडौं उपत्यकालगायतका क्षेत्रमा घर बनाउनका लागि सरकारले जग्गाको सीमितता तोकेको छ । सरकारले आवासीय प्रयोजनका लागि ४ आना (१३० वर्गमिटर) भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइनेगरी नीति बनाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो । सरकारले राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।
आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुनसक्ने वैकल्पिक व्यवस्था भने छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेगरी व्यवस्था गरिएको छ । त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।
कृषि क्षेत्रमा काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।