काठमाडौं । आउँदो असार ३ र ४ गते बुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदशनी हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना, चिया क्षेत्रमा क्रियाशील बिभिन्न संघसंस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा प्रदर्शनी हुन लागेको हो ।
नेपाली चियाको राष्ट्रिय प्रदशनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निशुल्क स्वाद लिन पाइने भएको छ । स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सहि चियाको सहि रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उदेश्यले बृहत राष्ट्रिय चिया प्रदशनी तथा टि टेस्टीङग कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराइले बताए ।
नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदशनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलाम देखि पश्चिम सम्म उत्पादित चियाको प्रदशन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजि क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एसोसिएसन,नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रिय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको मुख्य रुपमा सहभागिता रहनेछ । सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने बोर्डले जनाएको छ ।
नेपालको तराई क्षेत्रमा बिसेष गरि झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि भारत लगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ ।
आव २०७७/७८ को तथ्यांक हेर्ने हो भने नेपालले ३ अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ । नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो । इलामका तत्कालिन बडाहाकिम गजराज सिंह थापाले वि सं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो ।
नेपाली चियाको इतिहास १५० वर्ष भन्दा पुरानो रहेको छ । आव २०७७।०७८ को तथ्याङ्क अनुसार नेपालमा १६,९१७ हेक्टरमा चिया रोपण भएको र २३,७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको बिभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।