काठमाडौं । नौ वर्षअघि बुटवलका विक्रम श्रेष्ठलाई नेपालमै केही गर्ने मन नभएको होइन् । जागिरभन्दा पनि आफ्नै व्यापार/व्यवसाय गरौं भन्ने उनको चाहना थियो । तर, उनीसँग व्यापार व्यवसाय गर्ने पूँजी वा लगानी थिएन् । लगानी अभावले उनको चाहना पूरा हुन पाएन् । त्यसपछि उनी राम्रो कमाई हुने मुलुक कोरिया पुगे । सन् २०१३ देखि २०१८ सम्म पाँच वर्ष कोरियामा राम्रो कमाइ गरेर उनी स्वदेश फर्के ।
स्वदेश फर्केपछि फेरी कोरिया जाने सोच उनको भएन् । पहिले केही गर्छु भन्दा अड्किनुपर्ने लगानीको समस्या अहिले थिएन् उनलाई । एक्लैले गर्नुभन्दा सामुहिक रुपमा काम गरौं भन्ने हेतुले उनले आफ्ना अन्य दुई दाजुभाइसँग पनि कुराकानी गरे । बिक्रमका आफ्नै मामाका छोरा संजय श्रेष्ठ र उनका अर्का दाई पर्ने इश्वर श्रेष्ठ मिलेर सामुहिक रुपमा माछा र बंगुरपालन गर्ने योजना बनाए ।
त्यसअनुरुप, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बक्तापुरमा उनीहरुले जग्गा खरिद गरे । तीन दाजुभाईको संयुक्त लगानीमा उनीहरुले वि.सं २०७६ सालमा भिन्तुना एग्रो प्रा.लि. कम्पनी दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय सुरु गरे ।
संजय श्रेष्ठ पेसाले भेटेनरी डाक्टर पनि हुन् । इश्वर भने लघुवित्त कम्पनीको जागिर छाडेर पशुपालनमा जोडिएका हुन् । विक्रमको कोरियामा सिकेको कृषि प्रविधि र अनुभव, इश्वरको वित्त र बजारको राम्रो अनुभव र संजयको भेटनरीक्षेत्रको विज्ञता रहेकाले मिलेरै गर्नुपर्छ भनेर लागेको उनीहरु बताउँछन् ।
सुरुमा २५ लाख लगानी, तरकारी खेतीबाट नोक्सानी
सुरुमा उनीहरुले तरकारी खेती गरे । तर, त्यही बिचमा विश्वव्यापी कोरोना महामारीले उनीहरुले उत्पादन गरेको तरकारीले बजार नपाउँदा नोक्सान हुन गयो । सुरुआती चरणमा २५ लाख रुपैयाँ पूँजी लगानी गरेर पशुपालन थालेका उनीहरुले पूँजी बढाउँदै लगे । अहिले साढे १० विघा जग्गा लिँजमा लिएर माछा, बंगुर र कालो कुखुरापालन गरिरहेका छन् ।
‘सुरुमा २/३ विघा जग्गामा तरकारी खेती गरौं भनेर लाग्यौं । त्यहीँबीचमा कोरोना महामारी भित्रियो । बजार पनि भएन् र, तरकारीका लागि त्यहाँको माटो उपयुक्त नदेखेपछि हामी माछापालनमा गयौं,’ एग्रो प्रालिका सञ्चालक संजय श्रेष्ठ भन्छन, ‘त्यसपछि पूँजी बढाएर माछापोखरी खन्यौं र, बंगुरमा पनि हात हाल्यौं ।’

साढे दश विघामध्ये ६ बिघामा माछा पोखरी छ भने बाँकीमा बंगुर र कुखुरापालन गरिरहेका छन् । जहाँ १८ वटा पोखरी निर्माण गरिएको छ भने साना ठूला गरी १६० वटा बंगुर छन् । बजारको पनि राम्रो भएको र माछा र बंगुर बाहिरबाट बढी आएकाले त्यसलाई न्यून गर्नुपर्छ भनेर नै पशु तथा मत्स्यपालनमा लागेको श्रेष्ठले बताए । आफ्नो परिवार पहिले देखि नै व्यापारीक पृष्ठभूमिकै रहेकाले आफु पनि यो व्यवसायमा जोडिएको सञ्चालक संजय श्रेष्ठले बताए । ‘घरमा हामीले लेयर्स कुखुरा पालेका छौं । ह्याचरी पनि छ, दाना कम्पनी छ’ उनले भने, ‘घरमा मात्रै गर्नुभन्दा आफुले पनि छुट्टै गरौं भनेर यता लागेको हुँ ।’
बजारीकरणमा छैन समस्या, वार्षिक ४० लाखको कारोबार
उनीहरुले माछाका भूराहरु भैरहवा क्षेत्रका केही सरकारी कार्यालय र निजी मण्डल ह्याचरीबाट ल्याउने गरेका छन् । माछा र बंगुरका लागि बजारको खासै समस्या नभएको सञ्चालक श्रेष्ठ बताउँछन् । उनीहरुले माछा र बंगुर बुटवल, अर्घाखाँची, दाङलगायतका बजारमा बिक्रि गर्ने गरेका छन् । माछाको प्रकार हेरेर प्रतिकेजी डेढ सय देखि ३०० रुपैयाँ सम्म बिक्रि हुन्छ । कणकनाथ कालो कुखुरा भने प्रतिकेजी ५ सय देखि ७०० रुपैयाँसम्म बिक्रि हुन्छ ।

बंगुर ४५ दिनसम्ममा मासुका लागि तयार हुन्छ । उनीहरुले बंगुरका पाठापाठी ४५०० देखि ५००० सम्ममा बिक्रि गर्ने गर्छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा माछा, बंगुर र कुखुरा बिक्रिबाट झन्डै ३० लाख रुपैयाँको कारोबार भएको जनाइएको छ । तर, बंगुरमा लाग्ने रोगका कारण भने समस्या भएको उनले बताए । बंगुर व्यवसायमा लकडाउनले गर्दा धेरै जना होमिएका कारण बजार घटिरहेका उनले बताए ।
वि.सं २०७६ चैतदेखि उनीहरुले सामुहिक रुपमा बंगुर र माछापालन सुरु गरेका थिए । उनीहरुले पूँजी बढाउँदै लगेका छन् । कृषि र पशुपालनमा लागिसकेपछि २/३ वर्ष लगानी नै गर्नुपर्ने उनको भनाई छ । उनको फार्ममा ७/८ सय कणकनाथ जातको कालो कुखुरा छन् । तीन दाजुभाईको झन्डै एक करोड लगानी र ५६ लाख रुपैयाँ बैंकबाट ऋण गरि डेढ करोड भन्दा बढी लगानी उनीहरुले गरिसकेका छन् ।
रोजगारीसँग माछा पोखरी थप्ने योजना
उनीहरुको फार्ममा चार जनाले पूर्ण र आंशिक १० जना जतिले रोजगारी पाइरहेका छन् । भविष्यमा आफ्नो उत्पादन आफैं खपत गर्ने गरी कृषि र पर्यटनलाई जोड्न खोजिएको छ । माछापालनका लागि पोखरी थप्ने योजना छ । संजयका अनुसार, जग्गा आवश्यकताअनुसार पाइने भएकाले अझै १२ विघासम्ममा माछा पोखरी विस्तार गर्ने योजना छ ।

पीएमएमपीको अनुदान सहायता, मेसिन र उपकरणको प्रयोग
सरकारले कपिलवस्तुको सो क्षेत्रमा माछा जोन सञ्चालन गरिरहेको छ । माछाका लागि पोखरी खन्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत माछा जोन भएकाले ५० प्रतिशत अनुदान दिँदै आएको छ । सो बमोजिम पोखरी निर्माण गर्दा प्रतिकठ्ठा दश हजार रुपैयाँका दरले अनुदान सहयोग प्राप्त भएको संजय श्रेष्ठले बताए । गत आर्थिक वर्ष २०७७/०७८ मा पीएमएमपी परियोजनामार्फत माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदानबापत ५ लाख ४० हजार र चालू आव २०७८/०७९ मा ६ लाख ३० हजार रुपैयाँ अनुदान प्राप्त गरेको श्रेष्ठले जानकारी दिए ।

उनीहरुले माछा र बंगुरका लागि आवश्यक पर्ने दाना उत्पादन आफैं गर्ने गर्छन् । उनीहरुले दाना उत्पादन गर्ने मेसिन र उपकरण जडान गरेका छन् । हाते ट्याक्टर पनि बुद्धभूमि नगरपालिकाले अनुदानमा उपलव्ध गराएको उनले बताए ।
देशमा नै कृषियोग्य जमिन बाँझो हुँदै गएकाले त्यसमा कृषि तथा पशुपालन व्यवसाय सामुहिक रुपमा गर्न सकियो भने विदेश जानु नपर्ने सञ्चालक श्रेष्ठको सुझाव छ । ‘बजारका बारेमा बुझेर कुन ठाउँमा के गर्न सकिन्छ भन्ने बुझेर कृषि र पशुपालन व्यवसाय गरियो भने विदेश जानुपर्ने अवस्था आउँदैन्’ उनले भने, ‘प्राविधि ज्ञान र केही बुझेर लाग्नुभयो भनेर राम्रै हुन्छ ।’