कृषि प्रसार सम्मेलनमा कृषि मन्त्रीले भष्ट्राचारको कथा सुनाए

२०७९ असार ३ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राययादवले कृषिमा भएको लगानीको दुरुपयोग हुँदै आएको बताएका छन् । उनले हरेक कृषि ज्ञानकेन्द्रमा जाने रकमको दुरुपयोगमा कर्मचारीको पनि मिलेमतो हुने गरेको आरोप लगाए । शुक्रबार काठमाडौंमा आयोजित प्रभावकारी कृषि प्रसार सेवा प्रवाहको लागि कृषि अनुसन्धान, प्रसार तथा शिक्षाको समन्वय र सवलीकरण विषयक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले आफ्नै जिल्लाको कृषि ज्ञान केन्द्रमा समेत रकम अपचलन भएको आरोप लगाए । आफूले भारतको कृषिलाई नजिकैबाट अध्ययन गरेको र सो देशले १९९० सम्म विदेशबाट खाद्यान्न खरीद गर्नु परेकोमा हाल आएर खाद्यान्न निर्यात गरेर ठूलो रकम आर्जन गर्ने देश बनेको पनि बताए । उनले अध्ययनरत कृषि तथा पशुसेवाका विद्यार्थीले किसानसँग मिलेर काम गरी शिप हासिल गर्नुपर्ने पनि बताए । उनले कृषिका सामग्रीदेखि अनुसन्धानसम्मका समस्या उल्लेख गर्दै विदेश भ्रमणका केही विवरणहरु सुनाए ।
कार्यक्रममा कृषिसँग सम्बन्धित विश्वविद्यालयका भिसिदेखि विद्यार्थीसम्म र राष्ट्रिय योजना आयोगसहित संघीय सरकारका कृषि तथा कृषि अनुसन्धानका क्षेत्रमा कार्यरत वरिष्ठदेखि कनिष्ठ अधिकारीसम्म सहभागी छन् । त्यस्तै राष्ट्रिय किसान आयोगका अध्यक्षदेखि किसानसम्म सहभागी छन् । सम्मेलनमा नेपालमा कृषि क्षेत्रमा कार्यरत नीजि तथा गैरसरकारीका प्रतिनिधहिरुको सहभागिता छ । त्यस्तै सम्मेलनमा प्रदेश सरकारका कृषि सचिव तथा अधिकारीहरु पनि सहभागी छन् । सम्मेलन दुई दिन चल्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिमा साँच्चिकै काम गर्ने हो भने सरकारले नीतिगत रुपमै कृषिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । उनले हाल स्थानीय सरकारका कृषि तथा पशुसेवा प्राविधिकको दरबन्दीमध्ये क्रमशः ८० र ७६ प्रतिशत खालि रहेको तथ्य औंल्याए । यस्तो अवस्थामा कृषिले कसरी फड्को मार्ला भन्ने उनको प्रश्न थियो । यसका लागि सरकारले उपयुक्त पहल गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले सरकारले यस वर्ष खाद्यान्न आयातलाई ३० प्रतिशतले कम पार्ने नीति लिएकाले सोही अनुसारको काम अघि नबढाए कार्यक्रम गफमै सिमिति हुने बताए ।

सम्मेलनमा छिमेकी मुलुक भारतबाट जुममार्फत सहभागिता जनाइएको छ । जुममार्फत भारतका दुई उच्च अधिकारीले पनि उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । सम्मेलनको प्राविधिक सत्रमा नेपालका तर्फबाट ४ वटा प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै उद्घाटन सत्रमा बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमूख डा. रामकृष्ण क्षेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्र कृषि विभागका महानिर्देशक डा. रेवती रमण पौड्यालको अध्यक्षमा आयोजना गरियो भने मन्त्री राययादव प्रमूख अतिथिका रुपमा सहभागी थिए । सम्मेलन कृषि विभाग र कृषि प्रसार समितिको संयुक्त आयोजना सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल कृषि प्रसार समितिका अध्यक्ष सुरेशबाबु तिवारीले कार्यक्रमबारे प्रस्ट्याएका थिए । सम्मेलनको उद्घाटन सत्रमा लामो समयसम्म नेपाल सरकारको कृषि प्रसार सेवा तथा सोसम्बन्धी प्राध्यापनन गरेका २५जना जेष्ठ व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

तस्बिरहरु ः रविन गोपाली, कृषि सूचना तथा प्रशिक्षण केन्द्र,हरिहरभवन ।

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान …