काठमाडौं । देशभरका किसानले यतिबेला रासायनिक मल पाइरहेका छैनन् । यसले एकातर्फ किसानमा नैराश्यता छ भने अर्कोतिर मल दिन नसक्ने सरकारप्रति आक्रोश पनि । त्यस्तै, घटना शनिबार धादिङको धार्केमा घटेको छ । त्यहाँका स्थानीयले रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।
अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ । किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।