काठमाडौं । चितवन रत्ननगर नगरपालिका ६ स्थित बच्छ्यौलीका किसानहरु कुनै बेला काँधमा हलो, जुँवा र हातमा बाउसो लिएर खेतमा धान रोपाइँ गर्न जान्थे । हरेकका घरमा गोरु पालिन्थ्यो र, गोरुकै सहायताले बर्षे बाली लगाइन्थ्यो । तर, अहिले भने समय फेरिएको छ । पछिल्ला केही वर्षदेखि भने किसानले यान्त्रीकरणमार्फत मेसिनबाटै धानको बीउ उत्पादन गर्ने देखि धानबाली हार्भेष्ट गर्दासम्म मेसिनकै प्रयोग गर्ने गरेका छन् ।
परम्परागत खेती प्रणाली विस्तारै विस्थापित हुँदै गएको छ । धानको बीउ उत्पादनका लागि किसानले आफ्नै जमिनमा नर्सरी राख्ने गरेका छन् । त्यस्तै, धान रोप्ने, माटो काट्ने, गोड्नेदेखि धान काट्ने र पोष्ट हार्भेष्टसम्मका लागि कृषि यन्त्रकै प्रयोग गर्ने गरेका छन् ।
कृषि यन्त्र तथा उपकरणहरु कृषकको खेतबारीसम्म पुगेको छ । खासगरी, साना किसान कृषि सहकारी संस्थाले किसानलाई सहुलियत र अनुदानमा कृषि यन्त्र तथा उपकरणहरु उपलव्ध गराउँदै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा ३५ सय बढि सहकारीका सदस्यहरुलाई सेवा पुर्याएको व्यवस्थापक रामहरि दाहाल बताउँछन् । कृषिको आधुनिककीरणलाई सबैको पहँुचमा पुर्याउन आफु प्रयासरत रहेको बताउँदै भविष्यमा चितवनमा उत्पादन हुने सबै धान प्रसोधन गरी बजारसम्म पुर्याउने योजना रहेको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान ब्लकबाट सुरु भएको बछ्यौली हाल धान जोनमा परिणत भएको छ । पछि गएर सुपर जोनको रुपमा विकास गर्ने योजना समेत रहेको दाहाल बताउँछन् । धान ब्लक सुरु गर्दा १६ सय सहकारी सदस्य भएको कृषि कार्यक्रममा अहिले ३५ सय सदस्यमा विस्तार भएको छ । हाल जोनमा २५ हजारभन्दा बढि घरधुरी आवद्ध छन् ।
प्रधानमन्त्री कृषि परियोजनाको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र, मल, बीउ लगायतका वस्तु किसानसम्म पुर्याउने काम सहकारीले गर्दै आएको छ । परियोजनाबाट साना सिँचाई, कृषि यन्त्रीकरण, कष्टम हायरिङमा धान रोप्नेदेखि काट्ने मेसिन सबैमा ५० प्रतिशत अनुदानमा किसानले पाइरहेको दाहाल बताउँछन ।

चितवनको रत्नगर र खैरेनी नगरपालिकामा पहिलो पटक ४ पाङग्रे धान रोप्ने मेसिन भित्र्याएर कृषिमा सहकारीले यान्त्रीकरणमा जोड दिँदै गएको छ । किसानहरुलाई जोखिम न्यूनीकरण र हातेमालो गर्दै उक्त सहकारी अघि बढिरहेको छ । कृषि यन्त्रको प्रयोगबाट खेती गर्दा समयको बचत हुनुका साथै परम्परागत खेतीमा भन्दा ५० प्रतिशत कम लागतमा उत्पादन हुने दाहाल बताउँछन् । ‘कृषि मेसिन प्रयोग गरेर खेती गर्दा किसानले आफ्नो उत्पादन लागत ५० प्रतिशतभन्दा कम भएको महसुस गरेका छन् ।’ दाहालले भने ।
धानको जोन क्षेत्रको रुपमा रहेका पालिकाहरुका किसानलाई मेसिनको पहुँचमा पुर्याउन सरकारको सहयोग निरन्तर हुनुपर्छ । हाल मेसिनको पहुँच हुने किसानले मात्र मेसिनबाट धान रोप्ने, गोड्ने, काट्ने गर्ने गरेका छन् । किसानहरुले पनि उत्पादनमा कृषि यन्त्रलाई स्विकार्दै गएका छन् । त्यहाँका ३ हजार ७०९ जना सदस्यलाई सहकारीमार्फते प्रत्यक्ष सेवा तथा सहयोग पुगेको छ । पीएमएमपी परियोजनाबाट आएको अनुदानले कृषि यन्त्र तथा बिउबीजनहरु किसानसम्म पुर्याउने सहकारी एउटा राम्रो माध्यम बनेको छ । सरकारले आर्थिक विकासको खम्बाको रुपमा लिएको सहकारी जनतासम्म अनुदानमा आउने कृषि सामग्रीको पहुच पुर्याउने धेरै राम्रो माध्यम भएको उनले बताए । कृषि यन्त्रहरु सहकारी मार्फत खरिद गर्दा अनुदानको रेसियो एउटै हुँदा केही चुनौति भएको उनी बताउछन् ।

वि.सं २०५५ मा स्थापना भएको उक्त सहकारीले निरन्तर रुपमा साना तथा मझौला किसानलाई कृषि कर्जा तथा सहुलियपूर्ण ऋण उपलब्ध गराउदै आएको छ । सरकारबाट आउने अनुदान किसानको हातसम्म पुर्याउन सहकारीको भूमिका रहेको उनी बताउँछन् । ‘हामी कृषिमा केही गर्ने सोचसहित काम गरिरहेका छाँै, भोलिका दिनमा सरकारबाट आउने हरेक अनुदान किसानको हातसम्म पुग्नुपर्छ भन्ने हाम्रो कोशिस हो ।’ दाहालले भने । कृषि सहकारी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उदेश्य पनि एउटै भएकाले किसानसँग निरन्तर हातेमालो गर्दै अघि बढेको दाहालले बताए ।
हाते ट्रयाक्टरदेखि पोष्ट हार्भेष्ट यन्त्रसम्म
सुरुमा ब्लकमा सामान्य हाते ट्रयाकटरले धान रोप्ने गरिएकोमा अहिले धान काट्ने मेसिन, ठूला ट्रयाक्टर, पोष्ट हार्भेष्टका मेसिनहरु समेत सहकारीले राखेका छ । हाल सहकारीसँग प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट ५० प्रतिशत अनुदानमा पाएको १२ किसिमका कृषि उपकरणहरु छन् ।
धान रोप्ने मेसिनले प्रतिघण्टा ६ सय ट्रेलर धान रोप्ने गरेको उनले बताए । ‘कम्माइड हारवेटर’ मेसिन आए पछि धान उत्पादनमा झन ठूलो योग्दान पुगेको उनको बुझाई छ । सुरुमा ३ हजार हेक्टर क्षेत्रफलमा ब्लक सुरु गर्दा ब्लकअन्तर्गत ३ वटा गाविसहरु थिए । नगरपालिका घोषणपछि २ वटा स्थानीय तहमा ब्लक र जोन फैलिएको छ । रत्नगरपालिका र खैरेनीनगरपालिकामा हाल १७÷१८ सय विघा जग्गा ब्लक र जोनमा फैलिएको छ । सुचीकरण हुन बाँकी रहेका किसानहरु समेत थपिने क्रममा रहेको उनले बताए ।

प्रतिविघा ४ टन धान उत्पादन
१८ सय बिघा बढि क्षेत्रफलका किसानलाई सहयोग पुर्याउदै आएको सहकारीले प्रतिबिघा बर्खे धान र चैते धान छुट्टा छुट्टै उत्पादन गर्ने गरेको छ । बर्खे धान असारमा रोपेर कार्तिकमा उत्पादन हुने गर्छ । यो धान प्रतिविघा २० क्विन्टल(२० टन) उत्पादन हुने गरेको छ । चैते धान बर्खे धानको तुलनामा दोब्बर उत्पादन हुने गरेको उनी बताउँछन् । उनका अनुसार, चितवनको जोनमा हाल प्रतिविघा ४ टन धान उत्पादन हुने गरेको छ । कृषि यन्त्र सुरु गरेपछि उत्पादन बढ्दै गएको उनले बताए बताए ।
मेसिनबाट खेती गर्दा रोग कम लाग्ने र विषादीको प्रयोग कम गर्नु परेको उनले बताए । साथै, उत्पादनमा समेत वृद्धि आएको उनी बताउछन् । सहकारीमा आवद्धका किसानका खेतमा २ वर्ष अघिदेखि धान रोप्ने मेसिन किसानसम्म पुर्याउँदै आएका छन् । मेसिनबाट अहिलेसम्म चार सिजनको धान रोपाइँ गरिसकिएको छ । चितवनमा धान रोप्ने मेसिन विगतदेखि नै सुरु भए पनि पहुँचवालाहरुले मात्र प्रयोग गर्ने गरेका थिए । सहकारीले कस्टम हायरिङमा भएका मेसिनहरु साना किसानसम्म पुर्याइरहेको रहेको छ ।

सहकारीले धानको बीउ नर्सरी र सिँचाइ केन्दबाट ट्रे, ट्रयाक्टर, कल्ट्र, हिलो बनाएर सम्म्याउने रोडाभेटरहरु, मकै रोप्ने अटोमेटिक मेसिन समेत किसानलाई वितरण गर्ने गरेको छ । कृषि यन्त्रले काम गर्दा व्यक्तिमा लाग्ने लागत बचत भएको उनले बताए । सहकारीले धान काट्ने मेसिन र कम्बाइट हार्भेेष्टर किन्न बोलपत्र आह्वान गरिसकेको छ । यसले थप किसानलाई कृषि यन्त्रको पहुँचमा पुग्ने देखिएको छ ।
कस्टम हायरीङ नजिक भएका किसानले कृषि यन्त्र सजिलै पाउने भए पनि त्यसभन्दा टाढा भएका किसानहरुले सुविधा पाउन भने सकेका छैनन् । सहकारीले हालसम्म कृषि कार्यक्रममा झण्डै १ करोड रुपैयाँ लगानी गरेको दाहालले बताए ।
कृषि उत्पादनलाई उद्योगसम्म जोड्ने योजना
किसानले आफुले गरेको उत्पादन आफैले बजारमा पाएको मूल्यमा बिक्री गर्दै आएका छन् । कृषि सहकारीले पछि उक्त उत्पादनलाई संकलन गर्ने, प्रशोधन गर्ने र बजारसँग जोड्ने योजना बनाएको छ । जोनअन्तर्गत एउटा उद्योग स्थापना अन्तिम चरणमा पुगिसकेको उनले बताए । उक्त स्थानमा किसानको धान संकलन गरी त्यसलाई सुकाएर बजारसम्म पुर्याउने सहकारीको लक्ष्य छ । त्यस्तै, बीउका लागि श्रोत केन्द्र समेत सहकारीले आफैँ बनाएको छ । सुपरजोनसम्म पुगेपछि किसानको उत्पादनलाई ब्राण्डको रुपमा बजारसम्म पुराउने योजना सहकारीको छ । हाल सहकारीले ३ वटा गोदाम बनाइरहेको छ । संकलन हुने धान सुकाउने मेसिन समेत किन्ने तयारीमा रहेको व्यवस्थापक दाहालले बताए ।
उक्त मेसिनले धान सुकाएर बजारमा लैजाँदा धानको मूल्य बढी पर्ने छ । किसानले काँचो धान १५/१६ सय रुपैयाँमा बेच्छन् भने सुकेको धानको मूल्य ३ हजारदेखि ३५ सय पुगेको छ । पूर्ण यान्त्रीकरणमा जाने लक्ष्यसहित अघि बढेको यस कृषि सहकारीले अहिले ३ हजार ३५ सय विघामा धान उत्पादन गर्छ ।