गलेश्वर । भनिन्छ, कुनै पनि काम सानो र ठूलो भन्ने हुँदैन । पूर्ण आत्मविश्वास र इमानदारीका साथ मेहेनत गर्ने हो भने जुनसुकै काम गरे पनि सम्मान र सम्पत्ति कमाउन सकिन्छ भन्ने उदाहरण म्याग्दीका व्यावसायिक कृषक बनेका छन् ।
यहाँका व्यावसायिक किसानले आफ्नै खेतबारीको माटोसँग खेल्दै, रमाउँदै गरेको मेहेनतले उनीहरूको जीवन कायापलट भएको छ । बेनी नगरपालिका–२ का चन्द्रबहादुर कार्की, शोभित सापकोटा, हरिलाल घिमिरेलगायत जिल्लाका धेरै किसानका लागि तरकारी खेती बरदान सावित भएको छ ।
व्यावसायिकरूपमा तरकारी खेती गरेका यहाँका किसानले तरकारी बिक्री गरेर सम्पत्ति मात्र कमाएका छैनन् सामाजिक मान र प्रतिष्ठा पनि आर्जन गरेका छन् । तिनै किसानमध्येका प्रतिनिधि पात्र सोभित सापकोटा, चन्द्रबहादुर कार्की र हरिलाल घिमिरे हुन्। सापकोटा, कार्की र घिमिरेको विगत अत्यन्त दयनीय भए पनि अहिलेको अवस्था देख्दा धेरै मानिस लोभिने गर्दछन् । सानैमा बुवाको मृत्यु भएपछि १८–२० वर्षको उमेरसम्म दुःख र अभावबाहेक अरु केही नपाएका बेनी–२ खबराका ४२ वर्षीय सोभित सापकोटा अहिले आरसिसी पक्की घरमा बसेर घर वरिपरि गरेको तरकारी र फलफूल खेतीलाई हेर्दै सुखद् वर्तमानमा रमाइरहेका छन् ।
जिल्लाका विभिन्न सङ्घसंस्थाबाट पटक–पटक सम्मानित भइसकेका सापकोटाले तरकारी र फलफूल बिक्री गरेरै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । सापकोटाले १७ रोपनी जग्गामा तरकारी र फलफूल खेती गरेका छन् । उनको बारीमा सदावहार तरकारी झुलिरहेका र फलफूल लटरम्म फलिरहेका हुन्छन् । तरकारी र फलफूल खरिद गर्न व्यापारीहरू घरमै आउने भएकाले बजारको कुनै समस्या नभएको उनले बताए । तरकारी बेचेर नै उनले खबरामा पक्की घर बनाएका छन् । उनले छोरोछोरीलाई सहरका महँगा स्कुल र कलेजमा पढाएका छन् । उहाँ मोटरसाइकलदेखि सूचना प्रविधि र आधुनिक कृषि उपकरणको भरपुर प्रयोग गर्दै मनग्य लाभ लिन सफल भएका छन ।
त्यसैगरी बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने खबराकै कार्कीको जीवन तरकारी खेतीबाट नै हराभरा भएको छ । हँसिला र फरासिला ६० वर्षीय कार्की म्याग्दीका जैविक तरकारीका पितासमेत मानिन्छन। कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिकासरह भएको छ । चालीस वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती सुरु गर्नुभएका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन् ।
तरकारीको बीउ र बिरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर व्यावसायिक जैविक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेरै रु १२ लाखभन्दा बढी आम्दानी हुने बताए । कार्कीले १५ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेका छन । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दूरीमा छ । म्याग्दीका अगुवा कृषक कार्कीको भव्य पक्की घर छ । घर अगाडिको २२ रोपनी जग्गामा गोलभेँडा, काउली, बन्दाकोबी, मुला, गाँजर, सिमी, काँक्रा, साग, प्याज, लसुन, धनिया र अरू धेरै तरकारी फलेका छन् । घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोमा उहाँको पसल छ । लभ्लीहिल जाने पर्यटक त्यही पसलमा फलफूल र तरकारी किनेर फर्किने गर्छन् ।
तरकारीमात्रै होइन, सापकोटा र कार्की दुवैले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन । कार्कीले तरकारीसँगै केराखेती र माछा पालेका छन भने सापकोटा तरकारी, केरा र बाख्रापालनबाट आम्दानी लिन सफल भएका छन् । एउटै गाउँका यी दुई कृषकको देखासिकी गरेर अहिले पूरै खबरा गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ । दुई सय ४० घरधुरीको बसोबास रहेको खबराका प्रायः सबै तरकारी र फलफूल खेतीमा लागेका स्थानीयवासीसमेत रहेका बेनी–२ ज्यामरुककोटका वडा सचिव राजाराम शर्माले बताए ।
सापकोटा र कार्कीले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएको स्थानीयवासीको भनाइ छ । विषादीका कारण स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने सुनेका सापकोटा र कार्कीलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नआएको वडासचिव शर्माले बताए ।
त्यसैगरी जीवनको उत्तराद्र्धमा अम्बोटका हरिलाल घिमिरे पनि तरकारी खेतीबाट नै मनग्य आम्दानी लिन सफल भएका छन् । जीवनको उर्बर समय साउदी अरब र मलेसियामा बिताउनुभएका ५० वर्षीय घिमिरेले १० वर्षअघिदेखि व्यावसायिक तरकारी खेतीको सुरुआत गरेका हुन् । यो अवधिमा उहाँले १८ वर्षसम्म साउदी र मलेसियामा बसेर कमाउन नसकेको पैसा तरकारी खेतीबाट १० वर्षमै कमाइसकेका छन् ।
सापकोटा, कार्की र घिमिरे यी तीन कृषक प्रतिनिधि पात्रमात्र हुन । म्याग्दीमा पछिल्लो समय व्यावसायिक जैविक तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाका ५० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । उनीहरूले तरकारी खेतीबाट नै मनग्य आम्दानी गर्न सफल भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।