बागलुङ नगरपालिकाको नीतिः ‘बागलुङ नगर कृषि गाडी’ सञ्चालनमा ल्याउने

२०७९ असार १० गते प्रकाशित

बागलुङ । बागलुङ नगरपालिकाले किसानका लागि आवश्यक मल, बीउ तथा कृषिजन्य उत्पादनको ढुवानीका लागि ‘बागलुङ नगर कृषि गाडी’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय सहकारीसँगको सहकार्यमा कृषि गाडी सञ्चालनमा ल्याइने भएको हो । कृषि व्यावसायलाई प्रवद्र्धन गर्न नगरपालिकाको ५० प्रतिशत अनुदान तथा कृषि समूह र सहकारीको ५० प्रतिशत लागत सहभागितामा कृषि सञ्चालनको नीति ल्याइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, “नगरपालिकाले आवश्यकताका आधारमा कृषि समूह वा सहकारीसँग प्रस्ताव माग गरेर कृषि गाडी खरिदका लागि अनुदानको व्यवस्था गरिने छ । ” गाडीको व्यवस्थापन तथा सञ्चालन भने कृषि समूह वा सहकारीले गर्नेछन् ।

बागलुङको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख श्रेष्ठले कृषि उत्पादनमा प्रोत्साहन, बजारीकरणमा सहयोग र किसानलाई अनुदानका कार्यक्रम ल्याउने जानकारी दिए।

जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्न प्रत्येक पकेट क्षेत्रमा आइपिएम पाठशाला सञ्चालन गर्ने नीति नगरपालिकाले बनाएको छ । रासायनिक मल तथा विषादी प्रयोग नभएका कृषि क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रलाई अर्गानिक कृषि क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कृषि उत्पादनको अधिक सम्भावना रहेका वडा नंं ३ देखि १४ मा प्रतिवडा दुई÷दुई जनाका दरले अगुवा कृषक छनोट गरी उनीहरुलाई कृषि ज्ञान, सीप, प्रविधिमा दक्ष बनाई नगर कृषक अभियन्ताका रुपमा परिचालन गरिने नगर श्रेष्ठले बताए।

बाँदर नियन्त्रणका लागि नगरपालिकाले ‘फुड फरेस्ट’ कार्यक्रम अघि सारेको छ । सामुदायिक वन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्न सहयोग गर्ने कृषि बालीमा हानि पु¥याउने बाँदरलगायतका जीवजन्तुलाई प्राकृतिकरुपमा नियन्त्रण गर्न ‘फुड फरेस्ट’ कार्यक्रममार्फत बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केराखेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिने नगर श्रेष्ठले उल्लेख गरे ।

‘जग्गाधनी र कृषकलाई जोडौँ, जमिन बाँझो नछोडौँ’ भन्ने अभियानका साथ जग्गाधनी र कृषकबीच समन्वय गराइ नगर क्षेत्रभित्रका सबै बाँझो जमिनमा खेती गर्ने नीति नगरले ल्याएको छ ।