
काठमाडौं । यस वर्ष असार १५ गतेका दिन उन्नाइसौं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव हुने भएको छ । कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ मनाउन लागिएको सोमबार कृषि विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनका अवसरमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले नेपालमा रहेका विभिन्न रैथाने तथा स्थानीय जातहरुको संरक्षण, सम्वर्द्धन, उपयोग एवम् प्रवर्द्धन गरी धानको आयात प्रतिस्थापन गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरुलाई एकजुट भई हातेमालो गर्न आग्रह गरे । धान दिवस तथा रोपाई महोत्सव, २०७९ देशभर विभिन्न तह र स्थानमा मनाउने उनले जानकारी दिए ।
असार १५ का दिन कृषि अनुसन्धान परिषद् खुमलटारमा रोपाइँको कार्यक्रम आयोजना गरिएको छ ।