काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेलले रासायनिक मलको बिषयमा मन्त्रालयको आधा समय बित्ने गरेको बताएका छन् । कृषि विभागमा आयोजित राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव कार्यक्रममा बोल्दै उनले रासायनिक मल उपलव्ध गराउन मन्त्रालयका तर्फबाट विभिन्न पहल र छलफल भइरहेको बताए ।
‘अहिले मन्त्रालयमा मलकै बिषयमा आधा समय बित्छ, बाँकी दिनको आधा समय अरु प्रशासनिक काममा लगाउनुपर्ने हुन्छ’ उनले भने, ‘मन्त्रालयले रासायनिक मल किसानलाई उपलव्ध गराउन प्रतिवद्ध छ ।’ उनले गत वर्ष २१ वटा ग्लोबल ठेक्का रद्ध हुन गएको र अन्र्तराष्ट्रिय रुपमा मलको मूल्यवृद्धि तथा अभावका कारण यस वर्ष किसानलाई चाहिएजति उपलव्ध गराउन नसकिएको बताए ।
ग्लोबल टेन्डरबाट साल्ट ट्रेडिङले ल्याइरहेको र कृषि सामग्रीले पनि ३० हजार टन युरिया र २० हजार टन डीएपी छिट्टै ल्याउने उनले बताए । ग्लोबल टेन्डरबाट झन्डै एक लाख हाराहारी टन मल प्राप्त गर्ने अवस्था रहेको र डेढ लाख मेट्रिक टन मल भारत र नेपाल सरकार–सरकारबीच(जीटुजी)मार्फत ल्याउने प्रक्रिया अघि बढेको छ ।
जीटुजीमार्फत करिब ६० हजार टन मल ल्याउन आर्थिक तथा वित्तिय सम्झौता अन्तिम चरणमा पुगेको उनले बताए । त्यसका लागि कृषि सामग्री कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहाद्ुर कार्कीसहित टोली भारतमै रहेको र मल ल्याउन हरसम्भव प्रयास गरिरहेको बताए ।