काठमाडौं । हालसम्म देशभर १७ प्रतिशत भू–भागमा रोपाइँ भएको छ । कर्णाली र सुदुरपश्चिममा मनसुन शक्रिय भएको र रोपाइँ तीव्र रुपमा भए पनि अन्य प्रदेशमा भने मनसुन शक्रिय हुन नसक्दा रोपाइँ १७ प्रतिशतमै खुम्चिएको हो ।
कृषि विभागका अनुसार, असार १४ गतेसम्म प्रदेश नम्बर १ मा १८ प्रतिशत र मधेस प्रदेशमा ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यता, सोही अवधिमा सुदुरपश्चिम प्रदेशमा ३८ प्रतिशत र कर्णाली प्रदेशमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अन्य प्रदेशको धान रोपाइँको विवरण प्राप्त नभएको विभागका प्रवक्ता जानुका पण्डितले जानकारी दिइन् ।
गत असार १० गतेसम्मको तथ्यांकअनुसार, बागमती प्रदेशमा २५ प्रतिशत र लुम्बिनी प्रदेशमा ९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को असार १४ गतेसम्म देशभर २८ प्रतिशत रोपाइँ भएको पण्डित जानकारी दिइन् । पश्चिममा छिटो मनसुन शक्रिय हुँदा रोपाइँ राम्रो भए पनि अन्य प्रदेशमा भने आसातित रुपमा रोपाइँ हुन सकेको छैन् ।
नेपालमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।