पहाडी क्षेत्रमा काष्ठ तथा फलफुल आयोजनालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय

२०७९ असार २२ गते प्रकाशित

काठमाडौं । सरकारले पहाडी क्षेत्रमा काष्ठ, फल तथा फलफुल आयोजनालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । खासगरी, आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्वन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सह–सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेनद्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले सो आयोजनालाई अघि बढाउन र अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्व वार्ता टोली गठन गर्ने निर्णय गरिएको बताए ।

उनले, प्रत्येक वर्ष बैशाख १ गते घर जग्गाको लिखित रजिष्ट्रेसन दिवश मनाउन स्वीकृति प्रदान गरिएको बताए । सरकारले विभिन्न ३० जिल्लाका २ लाख २३ हजार ३२० गरिब परिवारको सूची स्वीकृत गरेको छ ।

विभिन्न स्थानीय तहलाई स्थानीय तहको जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको छ । नेपाल कृषि तथा बन सेवा समुहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा डा. दीपककुमार खराललाई बढुवा गरिएको छ ।