काठमाडौं । यतिबेला देशभर धान रोपाइँको चटारो चलिरहेको छ । असारको २२ गतेसम्म देशभर हेर्दा झन्डै ४५ प्रतिशत भू भागमा रोपाइँ सकिएको कृषि विभागले जानकारी दिएको छ । तथापी, बर्खे धान रोपाइँ झन्डै आधा सकिँनै लाग्दा समेत किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।
किसानहरु अहिले पनि मल कहिले आउँला भनेर कुरेर बसिरहेका छन् । सरकारले असार मसान्तभित्र भारतबाट ल्याउने भनिएको नेपाल र भारत सरकार सरकारबीच(जीटुजी) विधिमार्फतको मल अहिलेसम्म पनि ल्याएको छ ।
यसवर्ष जीटुजीमार्फत डेढ लाख मेट्रिक टन मल दिने भारतले यसअघि नै सहमति दिएको थियो । तथापी, कृषि मन्त्रालयका कर्मचारीले भने तत्काल ६० हजार मेट्रिक टन मल आयातका लागि अन्तिम सम्झौतामा रहेको जनाएका छन् ।
जीटुजीमार्फत उक्त परिमाणमा मल ल्याउन खरिद प्रक्रिया पूरा गरिसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । जीटुजीमार्फत मल आपूर्तिका लागि कृषि कम्पनी कामू प्रवन्ध सञ्चालकसहितको टीम भारतमा करिब दश दिन बिताएर फर्केको छ । जीटुजी विधिबाट जसरी हुन्छ, त्यसरी मल दिन भारत सरकारलाई मनाएर आएको कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की बताउँछन् ।
‘जसरी हुन्छ मल आपूर्ति गर्नका लागि हामीले भारत सरकारसमक्ष पटक पटक बैठक र छलफल गरेर एउटा समझदारी गरेर आएका छौं’, उनले भने, ‘हाम्रो हरसम्भव प्रयासले भारत सहमत भएको छ, आउँदो वर्ष मलको समस्या आउँदैन् ।’ भारत पनि नेपाललाई तत्काल जीटुजीमार्फत मल दिन सकारात्म देखिएको उनले बताए । सम्भवतः जीटुजीको मल असार मसान्तसम्म आयात प्रक्रिया अघि बढ्ने उनले बताए ।
यता, ग्लोबल टेण्डरमार्फत थप ३० हजार टन युरिया र २० टन डीएपीका लागि खरिद प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ । कोरोना महामारी, अन्र्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आपूतिकर्ताले समयमै मल उपलव्ध नगराइदिँदा यस वर्षको बर्खे धान रोप्ने बेलामा पनि किसानले मल पाएनन् ।
चालू आवमा मूल्य वृद्धि र कोरोना महामारीको बहाना देखाएर विभिन्न पाँच कम्पनीले झन्डै २ लाख मेट्रिक टन मल आपूर्ति गर्न नसक्दा किसानले मलको चर्को अभाव खेप्नुपरिरहेको छ ।