काठमाडौं । निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।
ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले ‘भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् । यो प्रवृत्तिले सरकारी आवास गृह व्यवस्थापनमा खटिएका कर्मचारी आजित भइसेकका छन् ।
पछिल्लो पटक कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर गएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।
कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर गए । आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार गर्यो ।
कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उहाँले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए । पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने नगरेको गोरखापत्रमा राधा चालिसेले समाचार लेखेकी छन् ।
यस विषयमा जिज्ञासा राख्दा पूर्वमन्त्री यादवले भने, “मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन । सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनू भनेर सहयोगीहरूलाई भनेको छु ।” उनले आफू स्थानीय तह निर्वाचनका बखत उपत्यकामा नहुँदा वासिङ मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गर्नुभयो । तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ ।