काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।
सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताइन् ।
सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताए ।
सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताइन् । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताइन् ।
सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरे । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताइन् । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिए ।
सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकामा अझै ५० प्रतिशत नसकिएकाले निर्माण कम्पनीलाई कारवाहीको माग गरे । सांसद लीलादेवी सिटौला (गौतम) ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच÷छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताए ।
सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गरिन् । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खनन भएकाले पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिन् । सांसद वृन्दा पाण्डेले काठमाडौँलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताइन् ।