मल नहाली किसानले सके आधाभन्दा बढी रोपाइँ, कुन प्रदेशमा कति रोपाइँ ?

२०७९ असार ३१ गते प्रकाशित

काठमाडौं । किसानहरुले रासायनिक मल अभावकै बिचमा पनि अहिले देशभर रोपाइँ गरिरहेका छन् । देशभर हालसम्म आधाभन्दा बढी अर्थात ५५.२७ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको छ । मल अभाव र मनसुनकै पर्खाइका कारण पनि केही भू–भागमा ढिलो गरी रोपाइँ सुरु भएको थियो । कृषि विभागका अनुसार, हालसम्म आधाभन्दा बढी रोपाई सकिएको छ ।

मनसुन केही सक्रिय हुन थालेपछि रोपाइँ धमाधम भइरहेको विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताए । उनका अनुसार, यसवर्ष पनि सतप्रतिशत नै रोपाइँ हुने देखिन्छ । तर, किसानलाई आवश्यक मलखादको पर्याप्त उपलव्धता नहुँदा समस्या भएको उनले बताए । विभागका अनुसार, हालसम्म प्रदेश नम्बर १ मा ४९ प्रतिशत, प्रदेश नम्बर २ मा ३९ प्रतिशत, बागमती प्रदेशमा ६५ प्रतिशत, गण्डकी प्रदेशमा ७९.४५ प्रतिशत, लुम्बिनी प्रदेशमा ५३ प्रतिशत, कर्णाली प्रदेशमा ५६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

गत वर्ष यसै समयमा झन्डै ६५ प्रतिशत रोपाइँ भएको थियो । विभागका अनुसार, साउन अन्तिमसम्म नै रोपाइँ हुने हुँदा सतप्रतिशत रोपाइँ हुने अपेक्षा छ । नेपालमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।