भ्रष्टाचारको लुतो फ्याँकौं- सम्पादकीय

२०७९ श्रावण १ गते प्रकाशित

साउन एक गते अर्थात् साउने सक्रान्ति, राँके सक्रान्ति, कर्कट संक्रान्ति समेतले चिनिने गरिन्छ । आजको दिनदेखि सूर्य उत्तरायणदेखि दक्षिणायनमा प्रवेश गर्ने गर्दछन्। धार्मिक दृष्टिले, सांस्कृतिक दृष्टिले, आर्थिक दृष्टिले साउने संक्रान्तिको ठूलो महत्व रहेको छ । किसानहरूले लगभग खेतीपाती सिध्याएर हिलो मैलो पखाल्ने, सरसफाइ शुद्धीकरणमा ध्यान दिने हुनाले यसलाई लुतो फाल्ने दिन पनि भनिन्छ ।

नुहाइधुवाइ सफाइ गर्ने, गोरुलाई नुहाउने तथा विभिन्न किसिमका मकरकाँजी हात्तीपाइले, स्याल धोती, कुरिलो,रोपो, काँडेझार, लहरो, उखु, निबुवा लगायत वनस्पति जम्मा गरेर बेलुका नाङ्लो ठटाउँदै,सिठी बजाउँदै जाँतो रिघाउँदै टाढाटाढा राँको फाल्ने गरिन्छ । कण्डारक राक्षस रातिमा हिँड्ने भएको हुनाले रातिको समयमा पूजा गर्दै अगुल्टो फाल्ने गरिएको छ र ती झारपातहरूमा टेकेर वारिपारिका गाउँलेहरुलाई गाली गर्दै लुतोसुतो लैजा है भन्दै चिच्याउने कुर्लने चलन समेत रहेको छ । यद्यपि समय धेरै परिवर्तन भएको छ यो समयको परिवर्तन शीलतासँगै वारिपारिका गाउँलेहरुलाई गाली गर्दै राँको फाल्ने चलन कतिको जायज छ यसमा थोरै सुधार ल्याउनुपर्ने हो कि भन्ने आवाज पनि सुनिन थालेका छन् ।

संक्रान्तिहरुमध्ये साउने सक्रान्ति अर्थात् कर्कट संक्रान्ति र माघे सक्रान्ति अर्थात् मकर सक्रान्तिको ठूलो महत्व रहेको छ । साउने सक्रान्तिदेखि पितृकार्यहरुको सुरुवात हुने, पितृहरू यस समयमा कार्य गर्दा खुशी हुने विश्वास रहेको छ भने साउन महिना शिवजीको महिना र सोमबार शिवजीको बारको रुपमा समेत लिने गरिन्छ । यसै समयमा शिव शक्ति पिठहरुमा ठूलो भीड लाग्ने गर्दछ र शिवजीको पूजा आराधना गरेमा कल्याण हुन्छ भन्ने विश्वास रहेको छ । यसै समयदेखि चाडबाडको सुरुवात हुन्छ नागपञ्चमी, जनैपूर्णिमा, तीज लगायतका पर्वहरुको सुरुवात पनि हुन्छ ।

आजकै दिनदेखि रात लामो हुने र दिन छोट्याउँदै जाने गर्दछन् । हुन त मौसम परिवर्तनले गर्दा अझै पनि धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन, धेरै प्रतिशत खेतीयोग्य जग्गाजमिन बाँझै रहेको छ तर पनि पहिलेदेखि चलिआएको, मौसम अनुकूल भएको सन्दर्भमा प्रायस् असारभित्र नै खेतीपाती सिद्धिने गरेको सन्दर्भमा र पहिले पहिलेको समयमा लुतो घाउखटिराहरु धेरै आउने तत्कालीन समयमा सरसफाइको महत्व जगाउन पनि राँके संक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गरेको पाइन्छ । राँको फाल्ने भएको हुनाले राँके सङ्क्रान्ति कर्कट राशिमा सूर्य प्रवेश गर्ने भएको हुनाले कर्कट संक्रान्ति र साउन महिनाको संक्रान्ति भएको हुनाले साउने सक्रान्ति भनेर भन्ने गरिएको छ ।

अयन भनेको मार्ग वा बाटो हो यस समयमा सूर्य दक्षिण अयन अर्थात् दक्षिणको बाटोतिर लाग्ने गर्दछन् १२ महिना राशि वैशाखमा मेष राशि हुदै चैतमा मीन राशिमा सूर्य रहने गर्दछन् । यसमध्ये कर्कट संक्रान्ति र मकर सक्रान्ति ठूलो महत्वको रहेको छ । सक्रान्ति सांस्कृतिक आर्थिक सामाजिक तथा लगाएको मानोलाई कसरी मुरीमा परिणत हुने गरी खेतीको स्याहार गर्न सकिन्छ भन्ने कृषि उत्पादकत्व लगायत विभिन्न दृष्टिकोणले ठूलो महत्व रहेको देखिन्छ ।

आजकै दिनदेखि आर्थिक दृष्टिले नयाँ वर्षको सुरुवात हुन्छ । पुरानो आर्थिक वर्ष समाप्त भई अघिल्लो वर्षको अर्थ सम्बन्धि विशेषता नीति हरूको विश्लेषण गर्दै नयाँ आर्थिक वर्षमा के कस्ता नीतिहरु अख्तियार गर्ने र कसरी मुलुकलाई समृद्ध बनाउने भन्ने योजनाअनुसार जेठ १५ मा जारी गरिएको बजेटको कार्यान्वयनको सुरुवाती दिन पनि आजै भएको हुनाले आर्थिक दृष्टिकोणले साउन १ गतेलाई नयाँ वर्ष मानिएको छ । अहिले मुलुकमा सबभन्दा बढी भ्रष्टाचारको लुतोले सताएको छ ।

भ्रष्टाचारको लुतो फ्याँक्न जरुरी छ । हरेक क्षेत्रमा भ्रष्टाचार देखिएको छ, हरेक निकायमा उत्तिकै बेरुजु देखापरेको छ । अब हामीले शरीरमा लाग्ने लुतोभन्दा पनि भ्रष्टाचारको लुतोलाई जरैदेखि अन्त्य गर्नुपर्छ, निमिट्यान्न पार्नुपर्छ र मुलुकलाई शान्त-समृद्ध विकसित बनाउनुपर्छ । हामी सबै स्वस्थ रहँदै मुलुकमा लागेको लुतोलाई फ्याँक्न आवश्यक छ ।