काठमाडौं । हालसम्म देशभर ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार ३२ गतेसम्म देशका विभिन्न ठाउँमा गरी धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९ लाख ७० हजार ४४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
असार सकिँदा प्रदेश नम्बर १ मा ४९ प्रतिशत र मधेस प्रदेशमा मधेश प्रदेशमा ५७ प्रतिशत, बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनीमा प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यसै समयमा ७५ प्रतिशत रोपाइँ भएको थियो ।
केही ठाउँमा मनसुन अझै सक्रिय नहुँदा रोपाइँ कम भएको छ । प्रदेश नम्बर १ र मधेस प्रदेशमा पनि यसपाली कम पानी पर्दा रोपाइँ कम भएको कृषि विभागले जनाएको छ । ती प्रदेश धान उत्पादनका हिसावले अत्यन्त महत्वपूर्ण मानिन्छ । साउन लागेसँगै मनसुन पुनः सक्रिय हुने सम्भावना रहेकाले सतप्रतिशत नै रोपाइँ हुने मन्त्रालयको प्रक्षेपण छ ।