३० हजार मेट्रिक टन युरिया कलकत्ता आइपुग्यो

२०७९ श्रावण ४ गते प्रकाशित

काठमाडौं । ३० हजार मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहमा आइपुगेको छ । कृषि सामग्र कम्पनीका अनुसार, मंगलबार साँझ उक्त मल कलकत्ता आइपुगेको हो । इजिप्टबाट ग्लोबल टेन्डरमार्फत खरिद गरिएको छिट्टै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनीले जनाएको छ ।

‘करिब ३० हजार टन मल आपूर्तिकर्ता कम्पनीले कलकत्ता बन्दरगाहमा ल्याइसकेका छ ।’ कम्पनीका कार्यबाहक प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने, ‘यथासीघ्र नेपाल पठाउन आपूर्तिकर्ता कम्पनीसँग कुराकानी भइसकेको छ ।’

दुई र्याक मल यथासीघ्र पठाउन र बाँकी मल निरन्तर पठाउन भनिएको उनले बताए । यदि अन्य काबु बाहिरको परिस्थिति सिर्जना नभए दश दिन भित्र सबै मल नेपाल भित्रिने आपूर्तिकर्ता कम्पनीले बताएको कार्कीले जानकारी दिए । किसानलाई मल आपूर्तिको सुनिश्चितता गर्न र अभाव हुन नदिने गरी कम्पनीले बाँकी ठेक्का अघि बढाउने उनले बताए ।स्वीस सिंगापुर कम्पनीमार्फत ठेक्का सम्झौता भएर मल आउने भएको हो ।

ठेक्का भइसकेको मल छिट्टै ल्याउन पहल गर्ने र चालू आवको लागि समयमै मल खरिदका लागि ठेक्का लगाउने उनले बताए ।