काठमाडौं । नेपाल र भारत सरकार—सरकारबीच(जीटुजी) विधिमार्फत खरिद गरिने रासायनिक मल तत्काल आपूर्ति नहुने देखिएको छ । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले जीटुजीमार्फत गरिने गर्नुपर्ने मलका लागि बजेट सुनिश्चितता नगरेको र विभिन्न खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले मल आपूर्तिमा ढिलाई हुने देखिएको हो ।
जीटुजी विधिमार्फत मल खरिदका लागि केही सार्वजनिक खरिद नियमावली, प्रतितपत्र र खरिदका केही बिषयमा केही दुविधाहरु थिए । दुवै देशका प्रतिनिधीबीच बसेको बैठकबाट ती दुविधाहरु अहिले नरहेको र दुवै पक्षलाई अनुकुल हुने गरी जीटुजीमा अन्तिम हस्ताक्षर भएको कृषि सामग्री कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की बताउँछन् ।
‘दुवै पक्षलाई अनुकुल हुने हिसावले जीटुजीको सम्झौतामा अन्तिम हस्ताक्षर गरिसकेका छौं ।’ उनले भने । तर, मल कहिले आउँछ भन्न नसकिने उनी बताउँछन् । ‘दुवै पक्षबाट हस्ताक्षर गरिएको पेपर आइसकेपछि के–कतिमा मल खरिद गर्न सकिन्छ, त्यसपछि मूल्य पठाउँछौं । जीटुजीमा मल खरिद गर्न चालू आर्थिक वर्षका लागि बजेटको सुनिश्चितता गरिदिनुपर्यो’ उनले भने, ‘यसरी हेर्दा, मल आउन केही समय अझै लाग्छ ।’
किसानहरु अहिले पनि मल कहिले आउँला भनेर कुरेर बसिरहेका छन् । सरकारले असार मसान्तभित्र भारतबाट ल्याउने भनिएको नेपाल र भारत सरकार सरकारबीच(जीटुजी) विधिमार्फतको मल अहिलेसम्म पनि ल्याएको छैन ।
गत आर्थिक वर्ष २०७८/०७९ मा जीटुजीमार्फत डेढ लाख मेट्रिक टन मल दिने भारतले सहमति गरेको थियो । त्यसका लागि १२ अर्ब रुपैयाँ बजेट छुट्याइए पनि मल आउन सकेन् ।
जीटुजीमार्फत उक्त परिमाणमा मल ल्याउन खरिद प्रक्रिया पूरा गरिसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । जीटुजीमार्फत मल आपूर्तिका लागि कृषि कम्पनी कामू प्रवन्ध सञ्चालकसहितको टीम भारतमा करिब दश दिन बिताएर फर्किसकेको छ ।