रासायनिक मल केही दिनमा सहज हुन्छः कृषिमन्त्री यादव

२०७९ श्रावण ६ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले रासायनिक मल अभाव केही दिनभित्रै सहज हुने बताएका छन् । नेपाली कृषि पत्रकारहरुको संस्था(अनाज) नेपालद्धारा नवनियुक्त मन्त्री यादवलाई शुभकामना तथा बधाइ ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

३० हजार टन युरिया कोलकत्ता आइपुगेको र २० हजार टन डीएपी पनि आउने क्रममा रहेको भन्दै उक्त मल केही दिनभित्रै आउने मन्त्री यादवले बताए । ‘अबको केही दिनमा मल सहज हुन्छ’ उनले भने, ‘किसानलाई न्यायो झोल मल उपयोगमा पनि जोड दिइरहेका छौं ।’ नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) सम्झौतामा केही बुँदामा देखिएका मतान्तरहरु दुवै देशका प्रतिनिधिबीच बसेर समाधान गरिएको र त्यसको अन्तिम हस्ताक्षरसहितको सम्झौतापत्र भारतपक्षबाट आउन बाँकी रहेको बताए ।

जीटुजीमार्फत मल खरिदका लागि पनि आफ्नो तर्फबाट पहल गरिएको बताए । उनले कृषि विधामा कलम चलाउने पत्रकारहरुको हक हित र क्षमता अभिवृद्धि गर्नुपर्ने औंल्याउँदै प्राप्त सुझावअनुसार अघि बढ्ने बताए ।

उपस्थित कृषि पत्रकारहरुले मन्त्रालय सूचनामैत्री हुन नसकेको, कृषि पत्रकारसँग समन्वय गर्न नसकेको र सूचना सहज रुपमा पाउन नसकेकोलगायतका बिषयमा कुरा राखेका थिए । पत्रकारहरुको सुझावलाई आत्मसाथ गर्दै मन्त्री यादवले आफुले मन्त्रालयबाट उपलव्ध हुने सूचना र जानकारी कसरी एकद्धार प्रणालीमार्फत कृषि पत्रकारसमक्ष पुर्याउन सकिन्छ भनेर योजना बनाई अघि बढ्ने बताए ।