डेढ महिनाभित्र एक लाख मेट्रिक टन मल भित्रिँदै

२०७९ श्रावण १३ गते प्रकाशित

काठमाडौं । आगामी डेढ महिनाभित्र डेढ लाख टन रासायनिक मल नेपाल भित्रिने भएको छ । कृषि सामग्री कम्पनीका अनुसार, ग्लोबल टेण्डरमार्फत खरिद गरिएको पाइपलाइनको उक्त मल डेढ महिनाभित्र नेपाल भित्रिने भएको हो ।

ग्लोबल टेण्डरमार्फत पाइपलाईनमा रहेको युरिया ६० हजार मेट्रिक टन र ४० हजार मेट्रिक टन डीएपी मल आगामी डेढ महिनाभित्र नेपाल आइसक्ने कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले कृषिपानालाई जानकारी दिए । ‘कलकत्ताबाट ५०० टन युरिया मल बिराटनगरका लागि हिडिसकेको छ । त्यस्तै, एक र्याक डीएपी पनि कलकत्ताबाट हिडिसक्यो’ उनले भने, ‘अबको डेढ महिनाभित्र करिब एक लाख टन मल नेपाल आइपुग्छ ।’

निरन्तर रासायनिक मल आइरहने हुँदा अभाव नहुने विकल्प निस्किएको कार्कीले जानकारी दिए । ग्लोबल टेण्डरको मल पनि आउने र हालै भारतसँग पाँच वर्षका लागि गरिएको जीटुजी सम्झौतामार्फत पनि मल आउने हुँदा मल अभाव नहुने देखिएको कार्कीले बताए ।

चालू आर्थिक वर्षमा रासायनिक मल खरिद गर्न सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।