विदेशमा गर्ने दुःख स्वदेशमै गरे राम्रो कमाई गर्न सकिने उदाहरण बन्दै रुकुमपूर्वका युवा

२०७९ श्रावण १३ गते प्रकाशित

रुकुमपूर्व । सानै उमेरमा विदेश गएर धेरै दुःख पाउनुभएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन्। उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पु¥याउने गरेको उनले बताए ।

यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरेका छिन्। गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरेकी उनको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिएका छन्। व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गरेकी शाहीले अहिले आफ्नी श्रीमान्लाई समेत स्वदेश फर्काएका छन् ।

कृषिमै भविष्य देखेकी शाहीले दुई–चार वर्ष विदेश बसेका श्रीमान्लाई स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहेका छन् । रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताए । उनीहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाएका छन ।

अहिले जिल्लामा उनीहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहेका यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरुले सन्देश दिएका छन। युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ । स्वदेशमै भएकाहरू पनि सहरबजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् ।