हालसम्म देशभर ८३ प्रतिशत रोपाइँ, कहाँ कति भयो रोपाइँ ?

२०७९ श्रावण १३ गते प्रकाशित

काठमाडौं । हालसम्म देशभर ८३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । साउन १२ गतेसम्मको विवरणअनुसार, सातै प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको हो ।

मनसुनी केही सक्रिय हुँदै गएपछि देशभर रोपाइँ तीव्र रुपमा भइरहेको हो । कृषि विभागका अनुसार, हालसम्म प्रदेश नम्बर १ मा ७८ प्रतिशत, मधेस प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ७६ प्रतिशत, लुम्बिनी प्रदेशमा ८५ प्रतिशत, गण्डकी प्रदेशमा ९२ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदुपश्चिम प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको हो । अघिल्लो वर्ष सोही अवधिमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

यसवर्ष मनसुन ढिला परेको र केही स्थानमा वर्षा नपरेकाले तुलनात्मक रुपमा कम रोपाइँ भएको विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले जानकारी दिए । साउन महिनाभर नै रोपाइँ हुने भएकाले सतप्रतिशत नै रोपाइँ हुने अनुमान गरिएको उनले बताए । नेपालमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।