म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् । एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । “पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको थिएन तर अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु”, उनले भने, “व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।”
सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे र छ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । पैँतालिस दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी रु आठ सयमा बिक्री हुन्छ ।
सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ । होटल, रेष्टुराँमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताए । रत्नेचौर र अर्जममा पाँच सयभन्दा बढी मगर घरमा दुई–चार वटा लोकल कालो सँुगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।
थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा सुँगुर काट्ने गरिन्छ । परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी–१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए।