कपिलवस्तुमा पशु चौपाया व्यवस्थापन गर्न चुनौती

२०७९ श्रावण २२ गते प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् । छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् ।

सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञनेन्द्र शर्माले बताए। पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थान गर्न उनले आग्रह गरे । किसानले आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको शिवराज नगरपालिका– ३ का सलिम खाँनले बताए ।स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो  तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।

मधेश मानव अधिकार गृहका पूर्वअध्यक्ष रवि ठाकुरले भने, पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिए। पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीकोरुपमा देखिएको छ ।

छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामले बताए। पशुचौपायाको व्यवस्थापनका लागि महाराजगन्जमा गौशाला निर्माण भइरहेको उनको भनाइ थियो ।