चामलमा चुलिँदो परनिर्भरताः पछिल्लो एक वर्षमा साढे ४७ अर्बको चामल आयात

२०७९ श्रावण २३ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को बाह्र महिनाको अवधिमा भारतलगायत अन्य मुलुकबाट नेपालले साढे ४७ अर्बभन्दा बढीको चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, भारतलगायतका दर्जन बढी मुलुकबाट सो अवधिमा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख ८५ हजार बराबरको चामल आयात गरेको हो ।

सबैभन्दा बढी चामल आयात भारतबाट भएको छ भने अन्य दर्जन मुलुकबाट पनि चामल नेपाल भित्रिएको हो । सरकारले देशलाई प्रमुख खाद्यबालीमा आत्मनिर्भर बनाउने योजना बनाए पनि भारतबाट चामललगायतका कृषिउपजको आयात बढ्दै गएको हो ।

विभागको तथ्यांकअनुसार, धानको बीउ, मसिनो र बासमतियुक्त चामलको आयात बढेको हो । सो अवधिमा भारतबाट मात्रै झन्डै साढे ४६ अर्ब बराबरको चामल आयात भएको छ भने चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, भियत्नाम, अष्ट्रेलिया, जापान, इन्डोनेसियालगायतका अन्य मुलुकबाट पनि चामल आयात भएको देखिन्छ ।