काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रम अघि बढाएको छ । बोर्डले पहिलो पटक सूचना प्रकाशित गरि न्यूनतम ५० रोपनी जग्गा चक्लाबन्दी गरी कफी रोपण तथा व्यवस्थापन गर्न वा न्यूनतम ५० हजार विरुवा उत्पादनका लागि ५० प्रतिशत अनुदान उपलव्ध गराउने गरी कार्यक्रम अघि बढाएको हो ।
बोर्डले उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आह्वान गर्दै सूचना जारी गरेको हो । इच्छुक कृषक समुह, फर्म, उद्योग, सहकारी, संघ÷संस्थाहरुले ३५ दिनभित्र सम्पूर्ण कागजातसहित प्रस्ताव पेश गर्न बोर्डले आग्रह गरेको हो ।
बोर्डका अनुसार, कफी नर्सरी स्थापनाका लागि न्यूनतम ५० हजार विरुवा उत्पादन गर्न प्रस्तावित आवश्यक जग्गाको लालपुर्जा छाँयाकपी वा जग्गाधनीसँगको लिँजको सम्झौता पेश गर्नुपर्नेछ । चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमको लागि प्रतिरोपनी तीस हजारको दरले हुन आउने रकममा ५० प्रतिशत अनुदान उपलव्ध गराउने बोर्डले जनाएको छ ।
कफी नर्सरी स्थापनाका लागि अधिकतम ७ लाख ६९ हजार ८५० मा ५० प्रतिशत अनुदान उपलव्ध गराउने सूचनामा उल्लेख छ ।
हेर्नुस, सूचना