खाद्य अधिकार नियमावली तत्काल लागू गर्न मागसहित कृषिमन्त्रीलाई ज्ञापनपत्र

२०७९ श्रावण २६ गते प्रकाशित

काठमाडौं । खाद्यका लागि कृषि अभियानको नेतृत्वमा सम्बद्ध विभिन्न संस्थाहरुले खाद्य अधिकार नियमावली तत्काल लागू गर्न कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ आउनु अनिवार्य रहेको छ र ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुँदा अफ्ठ्यारो भइरहेकाले नियमावली तत्काल लागू गर्न अभियानले संयुक्तरुपमा कृषिमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो । अभियानकर्मी कल्पना कार्किले ज्ञापनपत्र वाचन गरेकी थिइन् भने खाद्यका लागि कृषि अभियानका संयोजक उद्वव अधिकारीले ज्ञापन पत्र कृषिमन्त्री यादवलाई हस्तान्तरण गरेका थिए।

साथै, ज्ञापनपत्रमार्फत उच्चस्तरीय प्राङ्गारिक कार्यदलले सिफारिस गरेका सुझावलाई मनन गरेर आवश्यक नीति बनाउन ध्यानाकर्षण गराइएको छ । संघीय सरकारले कृषि नीति नबनाएको कारण प्रदेश र स्थानीय सरकार अलमल्ल परिरहेको छ । एकीकृत कृषि नीति निर्माणमा ध्यान दिनु पर्ने तथा कृषि सम्बन्धी मुलभुत विषयलाई समेटेर एकीकृत कृषि ऐन तर्जुमा कार्य अघि बढाउन अभियानले कृषिमन्त्रीसमक्ष आग्रह गरेको हो ।