काठमाडौं । आज नेपालीहरुको चाड जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णियाका दिन विभिन्न थरीका गेडागुडीको परिकार बनाएर क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ।
जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउलगायत नौं थरीका गेडागुडीको परिकार मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।
त्यस्तै, आज हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ।
यस्ता छन् क्वाँटी खानुका फाइदाहरूः
-कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
-यो सजिलै पाच्य हुन्छ ।
-पेटमा अनावश्यक वायु बनाउँदैन ।
-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
-रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
-पाचनशक्तिमा सुधार ल्याउँछ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।।