काठमाडौं । मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक अप्ठ्यारोमा पारेपछि सरकारले उजुरी गर्न सबै मिटर ब्याज पीडित किसानलाई आग्रह गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारीस गर्न गठित कार्यदलले अपराधीलाई कानुनी दायरामा ल्याउन पहल गरेको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै मिटर ब्याजबाट पीडित किसान अझै धेरै हुन सक्ने र कानुनी उपचारका जान नसकेको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी गर्न आग्रह गरेको हो । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाबाट गम्भीर पहलकदमी अघि बढेको र कार्यदल गठन भइ माइतीघरमा धर्नामा रहेका पीडित किसान, मिटर ब्याज तथा ठगी विरुद्धको किसान मजदुर संघर्ष समिति सँग जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा कार्यदलले वार्ता गरिसकेको छ ।
मिटर ब्याजबाट पीडित नवलपरासीको पश्चिमको प्रतापुर र सुस्ता गाउँपालिकाका किसान विगत तीन हप्तादेखि काठमाडौंको माइतीघरमा आएर धर्ना बसिरहेका छन् । यो समस्या नवलपरासीको मात्र नभइ तराईका अधिकांश जिल्लाहरुमा गुनासो प्राप्त भएकाले पीडित किसानले तत्काल उजुरी दिन कार्यदलले समेत आग्रह गरेको छ । फाइल तस्बिर
हेर्नुस, बिज्ञप्तीसहितको सूचना