वीरगन्जका मेयरको दादागिरीले रासायनिक मल आपूर्ति ठप्प, भन्सारले समेत रोक्यो मल बोकेका गाडी

२०७९ श्रावण २९ गते प्रकाशित

काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डरमार्फत वीरगन्जमा भित्र्याएको रासायनिक मल वितरणमा समस्या देखिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दादागिरी शैलीमा कम्पनीको वीरगन्ज कार्यालयमा दलबलसहित पुगेर मलका गाडी कब्जामा लिएका हुन् ।

तोकिएको कोटाबाहेक थप कोटा चाहियो र महानगरपालिकालाई मात्र मल चाहियो भन्दै मेयर सिंहले च्याखे थापेको कम्पनी एक कर्मचारीले कृषिपानालाई जानकारी दिए । उनका अनुसार, मेयर सिंहले कम्पनीका ४ वटा मलका गाडीमा आफ्नो कब्जामा लिएका छन् । मेयरको ज्यादती अहिले कम्पनीको कार्यालयको मल आपूर्ति समेत रोकिएको छ । जसका कारण, वीरगन्ज भन्सार कार्यालयबाट विभित्र जिल्लामा जाने मल रोकिएको हो ।

यता, वीरगन्ज भन्सार कार्यालयले समेत भैरहवा हुँदै पश्चिमका जिल्ला पठाउन लोड गरेका मलका गाडी रोकेको समाचार प्राप्त भएको छ । आइतबार बिहानै देखि मल लोड गरिएका ४२ वटा गाडी भन्सारले समेत रोकेको हो । रोक्नुपर्ने कुनै कारणबिना र ऐनमा नै व्यवस्था नभएको कुरा अौंल्याउँदै वीरगन्ज भन्सार कार्यालयका अधिकृत भुपेन्द्र कार्कीले मलका गाडी रोकेको स्रोतले जानकारी दियो । ठेक्का लगाएको छोटो समय(२८ दिनभित्र) भित्रिएका ३० हजार मेट्रिक टन मल आपूर्तिमा स्थानीय सरकार र भन्सार कार्यालय समेत बाधक देखिएका छन् ।

अहिले पनि लाखौं किसान धानबालीका लागि मल कुरेर बसेका छन् । तर, बल्लतल्ल भित्रिएक‍ो मलमा पनि स्थानीय सरकारकाे हानथाप हुनु पक्कै राम्रो होइन् । यता, भन्सारका हाकिमले पनि किसान मल नपाएर छट्पटिएको अहिलेको अवस्थामा बिनाकारण भन्सारमा मल रोक्नु हुन्न । वीरगन्ज भन्सारमा रोकिएकाे मल भैरहवासँगै प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरालगायतका पश्चिमी जिल्लामा पठाउन लागिएको थियोे ।

एकातिर भन्सारमा मल रोकिनु र वीरगन्जका मेयरको यस किसिमको ज्यादती हुनु कतै मेयर सिंह र भन्सार अधिकृतको कुनै साँठगाँठ त छैन भन्ने प्रश्न उब्जिएको छ । आइत बिहानै देखि वीरगन्जमा मल आपूर्ति ठप्प हुँदा कृषि तथा पशुपन्छी मन्त्रालय बेखबर छ । केही दिनमा मल आपूर्ति सहज गराउँछु भनेर वचन दिएका कृषिमन्त्री मृगेन्द्रकुमार सिंहले पनि यस विषयलाई गम्भीरतापूर्वक मनन् गरून् र मलको आपूर्ति व्यवस्थापन यथासीघ्र सहज गरुन्। अन्यथा, धान गोड्ने बेलासम्म त मल पाइएला र हालौंला भनेर कुरेर बसेका किसानले अहिलेका कृषिमन्त्रीबाट आस गर्नु पनि बेकार हुनेछ ।