काठमाडौं । आइतबार बिहान देखि वीरगन्ज महानगरपालिकाले कब्जामा लिएको रासायनिक मल अहिलेसम्म पनि नियन्त्रणमै राखेको छ । कोटा थप गर्नुपर्ने मागसहित वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले दादागिरी शैलीमा किसानलाई उक्साएर कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा पुगेर विभिन्न जिल्ला पठाउन लोड गरिएका ४ वटा ट्रक नियन्त्रण लिए ।
मेयर सिंहले महानगरपालिकालाई कोटा थप गर्नुपर्ने माग गरेका थिए । तर, कृषि सामग्री कम्पनीले कोटा थप गर्न नसकिने बताएपछि मेयर सिंहले मल कब्जामा लिएका हुन् ।
कम्पनीले वीरगन्ज महानगरका लागि ८ सय टन मलको कोटा छुट्याएको थियो । तथापी, लामो समयपछि ग्लोबल टेण्डरमार्फत भित्रिएको ३० हजार मेट्रिक टन मलमध्ये वीरगन्ज भन्सार नाका हुँदै कम्पनीको गोदाममा आएको मल परिचालन रोकिएको हो ।
चारवटा ट्रकको मल महानगरको कब्जामा हुँदासमेत त्यसलाई छुटाउन कतैबाट पनि पहल नभएको कृषि सामग्री कम्पनीका एक कर्मचारीले बताए । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह पनि मल परिचालन ठप्प हुँदा बेखबर जस्तै छन् । महानगरको कब्जामा रहेको उक्त मल छुटाएर विभिन्न जिल्ला पठाउन पहल गर्नुपर्ने भए पनि कृषिमन्त्री र अन्य निकाय पनि तैंचुप र मैँचुप छन् ।
आइतबार बिहान पर्वत, धनुषा र रौतहटलगायतका जिल्लामा मल पठाउन लागिएका मलका लोड ट्रक सिंहको नेतृत्वमा पुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।
यो पनि पढ्नुहोस्,
वीरगन्जका मेयरको दादागिरीले रासायनिक मल आपूर्ति ठप्प, भन्सारले समेत रोक्यो मल बोकेका गाडी