नेपाली चिया निर्यातका लागि चीन सकारात्मक,भारतबाट त्रसित चिया व्यवसायीमा नयाँ उत्साह

२०७९ श्रावण ३१ गते प्रकाशित

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपाली चिया आयातका लागि सकारात्मक प्रतिक्रिया दिइएको छ । नेपालले बारम्बार नेपाली चिया निर्यात गर्न पहल गरेकोमा चीनियाँ पक्षले चिया आफनो बजारमा खुल्ला गर्न दिने सहमति जनाएको हो । गत साउन २४ देखि २६ सम्म परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा नेपाली चिया निर्यातका लागि चीनियाँ पक्षसँग सकारात्मक वार्ता भएको थियो ।

नेपाली चिया आयात गर्नका लागि चिनिँया पक्षले सकारात्मक प्रतिक्रिया दिएको र नेपाली चिया चिनिँया बजारमा पुर्याउन आवश्यक तयारी अघि बढाउनुपर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालको उत्पादन क्षमता बढाउन तथा लगानी प्रवद्र्धनका लागि नेपाली चिया चीनमा निर्यातका लागि सहयोग गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो । त्यसमा चिनिँया पक्षसँग सकारात्मक कुराकानी भएको मन्त्रालयका सचिव भरतराज पौडेलले जानकारी दिए ।

परराष्ट्र मन्त्रीको चीन भ्रमणमा नेपाली चिया निर्यात गर्नका लागि कुटनीतिक रुपमा मौखिम समझदारी भएको मान्न सकिन्छ । नेपाली चिया निर्यातका लागि नेपाल–चीनबीच दुईदेशीय समझदारीपत्र(एमओयू) लगायतका आवश्यक प्रक्रिया अघि बढ्नेछन् ।

चीनसँग एमओयू गर्नका लागि आवश्यक ड्राफ्ट(मस्यौदा) तयार गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत आवश्यक प्रकृया अघि बढिरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराइले कृषिपानालाई जानकारी दिए ।

एमओयू भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारीसमा उत्तm प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भएर कार्यान्वयनमा आउनेछ । त्यसपछि,नेपाली चिया निर्वाध रुपमा चीन निर्यात हुनेछ भने चीनका व्यापारी तथा उद्योगीहरु नेपाल आयात चिया निर्यात गर्नेछन् । यता, भारतले नेपाली चिया आयात रोक्ने प्रस्ताव राज्य सभामा पेश गरेको खबरले आतंकित चिया व्यवसायीका लागि चिनिँया बजारमा नेपाली चिया निर्यात गर्ने खबरले उत्साह थपेको छ ।

विगतमा ‘वान वे’ मार्फत नेपाली चिया भारत हुँदै त्यहाँबाट तेस्रो मुलुक जाने गरेको थियो । एमओयू भएपछि नेपाली चियाको निर्यात नेपालदेखि सीधा हुनेछ । अहिले भारतका चिया उद्योगीले नेपाली चिया भारत आयात गरी अन्य मुलुकमा बेचिरहेको छन् । नेपाली चिया भारत पुगेर पुनः चीनियाँ मुलुकमा पनि निर्यात भइरहेको अवस्था छ ।

हाल भारतले ३० लाख केजी नेपाली चिया चीन निर्यात गरिरहेको छ । भारले अहिले पनि आकर्षण ‘प्याकेजिङ’ तथा ब्रेन्डिङ गरेर चीनलगायत अन्य तेस्रो मुलुक निर्यात गरिरहेको छ । नेपाली चिया आकर्षण प्याकेजिङका साथ भारतले ‘दार्जिलिङ टी’ का नामबाट निर्यात गरिरहेको छ ।

नेपालबाट जति चिया निर्यात हुन्छ, त्यसको ८० प्रतिशत भारत र अन्य मुलुकहरु जस्तैः अमेरिका, डेनमार्क, क्यानडा, बेलायतलगायतका मुलुकमा पनि नेपाली चिया निर्यात हुँदै आएको छ ।