तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान

२०७९ भाद्र १ गते प्रकाशित

गलेश्वर । एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किनुभएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त छन। उनी तरकारी खेती गरेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त छन। गोडमेल, मलजल र फलफूल रेखदेखनै उहाँको दैनिकी बनेको छ । भण्डारी मात्रै होइन डडुवाका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालनमा लागि परेका छन। उजाड र उराठलाग्दो डडुवा हराभरा भएको छ । तरकारी खेती र पशुपालन गरेर उनीहरुले विदेशमा भन्दा बढी कमाई गर्दैआएका छन।

विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृषि पेसामा लगाए। भण्डारीले दुई आधुनिक टनेल, तीन सामान्य टनेल र दुई हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती गरेका छन्। वार्षिक सरदर रु एक लाख ५० हजारको लगानी गरी उनले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, साग लगायतका तरकारी लगाएका छन ।

“गोलभेँडा बिक्रीबाट बर्सेनी रु चार लाख आम्दानी हुन्छ”, उनले भने । बन्दा, काउली, खुर्सानी, भन्टालगायत बिक्री गरी मासिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको भण्डारी बताउछन। अहिले डडुवाका प्रायःले तरकारी खेती सुरु गरेका छन् । गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । उनीहरु आर्थिक रुपमा सबल बन्दै गएका स्थानीय शिक्षक प्रेम नेपालीले बताए ।

“डडुवामा अहिले जताततै टनेल छन्, टनेलभित्र तरकारी खेती फष्टाएको छ”, उनले भने । सिँचाइ गर्न स्थानीयले गाउँमा नै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीको पानी हिउँदमा समेत सिँचाइ गर्न प्रयोग गर्ने गरिएको कृषक पदम भण्डारीले बताए । अर्का कृषक भीम पाइजा खुर्सानी बेचेर वार्षिक रु डेढ लाख आम्दानी गर्दै आएका छन । यस्तै डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालनसमेत गरेका छन। आम्दानी बचतसमेत गर्ने गरेको कृषक भण्डारी बताउछन। “तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन”, उनले भने ।

तरकारी र फलफूल बिक्री गर्न बजारको समस्या छैन । गाउँमा सडकको पहुँच छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । तर त्यसबाट कृषक लाभान्वित हुन सकेका छैनन् ।