काठमाडौं । केही दिनअघि मात्र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भयो । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले उक्त विधेयक संसदबाट पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त विधेयक संसदबाट पारित भएलगत्तै यसको विरुद्धमा विरोध सुरु भएको छ । निजीक्षेत्र तथा सरोकारवाला निकायबाट विधेयकमा भएको त्रुटि र जायज माग सम्बोधन नभएको भन्दै विरोध भइरहेको छ ।
यसैबीच, नेपाल भेटेनरी एशोसिएसनले पनि विधेयकले आफ्ना जायज माग सम्बोधन नगरेको र पशु चिकित्सकको अपमान गरेको भन्दै विधेयक फिर्ताको माग गरेको छ । एशोसिएसनले विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभामार्फत उक्त विधेयक फिर्ता हुनुपर्ने र यदि नभए चरणवद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ । विगतमा एशोसिएसनले उठाएका मुद्धा सम्बोधन नगरी गोलमोटल शव्दहरु राखी विधेयक पारित गरिएको प्रति गम्भीर असहमति रहेको जनाएको छ ।
विधेयक पारित गर्नुपूर्व विवादित विषय र जायज मागहरु सम्बोधन नभएको र पशु चिकित्सकको अपमान गरिएको एशोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठ बताउँछन् । ‘पशु स्वास्थ्य जस्तो गम्भीर बिषयमा विगतदेखि उठाइएका जायज मागहरु सम्बोधन नै नगरी दुईअर्थ र गोलमोटल शब्द राखी विधेयक पारित गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ’ उनले भने, ‘प्रतिनिधी सभाले पारित गरे पनि जायज मागहरु पुरा नगरेसम्म राष्ट्रिय सभाले उक्त विधेयक फिर्ता गर्नुपर्छ । अन्यथा, हामीहरु कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
यता, विधेयकमाथि उठाएको बिषयमा कुनै सत्यतता नरहेको नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहता बताउँछन् । विधेयकले गुणस्तरीय सेवा पाउनका लागि पशु चिकित्सक सेवा छनौट गर्न सक्ने बताए ।
‘अहिले भेटनरी चिकित्सकले गर्ने कामबाहेक पशु स्वास्थ्य सेवा अन्य जनशक्ति अघि बढाउने कुरा विधेयकमा छ । त्यस्तै विधेयकमा चिकित्सकको वर्गीकरण चार प्रकारले गरेको छ’ उनले भने, ‘वर्गीकरणअनुसारको जनशक्तिको कार्य जिम्मेवार ितोकिने उल्लेख छ । यसबाट किसानले कुन तहको पशु चिकित्सकबाट कुन पशु सेवा लिने भन्ने कुरा छनोट गर्न सक्नेछन् । किसानले गुणस्तरीय सेवा पाउँछन् ।’
विधेयकले भेटनरी चिकित्सको उचाई थप बढाउने उनको भनाई छ । विधेयकको मस्यौदा ड्राफ्टमाथि यसअघि प्रतिनिधि सभाको कृषि तथ प्राकृतिक स्रोत समितिमा पनि व्यापक छलफल भएर पेश गरिएको थियो । त्यस्तै, पशु चिकित्सक, विज्ञ, सरोकारावाला निकायको समेत राय समेटेर विधेयकको मस्यौदा तयार पारिएको थियो ।
अहिले विधेयक एकलौटी रुपमा अघि बढाएर पारित गरिएको भन्दै कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको चर्को विरोध भइरहेको छ । विधेयकविरुद्ध विभिन्न ठाउँमा कृषिमन्त्रीको पुत्लादोहन समेत भइरहेको छ । समग्रमा, यदि पशु स्वास्थ्यमाथि प्रतिकुल असर गर्ने, विवादीत मुद्धा र पशु चिकित्सकको मानमर्दन हुनेखालका विषय छन भने यथासक्य सम्बोधन हुन जरुरी छ । त्यसका लागि प्रतिनिधि सभाबाट विधेयक पारित भए पनि राष्ट्रिय सभाले फिर्ता गर्न सक्छ । त्यसपछि, व्यापक छलफल र जायज माग सम्बोध गरी विधेय पुनः संशोधनसहित पारित गर्नु उचित कदम होला ।