काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले संसदबाट पारित पशु स्वास्थ्य विधेयकमा देखिएका विवादित मुद्धालाई नियमावलीमार्फत स्पष्ट पार्न सकिने बताएका छन् । अहिले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकमाथि समर्थन र विरोध भइरहेका बेला मन्त्री यादवले यस्तो बताएका हुन् ।
विभिन्न समिति, सरोकारवाला निकाय, कार्यदलले दिएको सुझावका आधारमा पेश भएको विधेयकलाई संसदमा लगेको उनले बताए । ‘विधेयकको मस्यौदा बनाउन कार्यदल बन्यो, समितिमा छलफल भयो, विज्ञ र सरोकारवालाको राय र सुझाव समावेश गरी विधेयक अघि बढाइएको हो’ उनले भने, ‘यहाँ केही भेटेनरी डाक्टरहरुले विधेयक पास हुनै नदिने खेलमा लागे ।’ विधेयकमाथि तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने कृषिपानाको प्रश्नमा मन्त्री यादवले भने, ‘केही अलिकति विषयमा स्पष्ट पार्नुपर्नेछ । जे, जे गर्नुपर्नेछ, त्यो अब नियमावलीमै स्पष्ट पारौंला ।’
विधेयक प्रतिनिधि सभाबाट बहुमल पारित भइ राष्ट्रिय सभामा पेश हुने चरणमा पुगेको छ । राष्ट्रिय सभाबाट पनि विधेयक पारित भइ राष्ट्रपतिमार्फत प्रमाणिकरण भइसकेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ । ऐन कार्यान्वयनका लागि छुट्टै नियमावली बनाउनुपर्ने हुन्छ ।
विधेयक पारित भएसँगै नेपाल भेटेनरी एशोसिएसनलगायतका संघ संस्थाहरुले विरोध जनाइरहेका छन् ।