गहुँ सिजनका लागि ५० हजार मेट्रिक टन मलको ठेक्का लगाइँदै

२०७९ भाद्र ८ गते प्रकाशित

काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले गहुँ सिजनका लागि ५० हजार मेट्रिक टन मल खरिद गर्न ग्लोबल टेन्डर(ठेक्का) लगाउने प्रक्रिया अघि बढाएको छ । ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपीका लागि ठेक्काको पूर्ण तयारीमा रहेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘कृषि सामग्रीले गहुँ सिजनका लागि ५० हजार मेट्रिक टन मलका लागि यसै हप्ता टेन्डर निकाल्दैछ’ उनले भने, ‘३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपीका ठेक्काको पूर्ण तयारीमा छौं ।’

यसअघिको ठेक्का लगाइएको ३० हजार मेट्रिक टन मल करिब सबै आइसकेको उनले जानकारी दिए । ठेक्का लगाएको छोटो समयमै भित्रिएको उक्त मल विभिन्न जिल्लामा पठाइसकिएको छ । त्यस्तै, २० हजार मेट्रिक टन डीएपी मल कलकत्ताबाट अनलोडिङ र प्याकिङ भइसकेको उनले जानकारी दिए ।

अर्को २० हजार मेट्रिक टन डीएपी मल जोर्डनबाट कलकत्ताका लागि छुटिसकेको छ । कलकत्ताबाट अनलोडिङ भएको डीएपी एक हप्तामा नेपाल भित्रिन सुरु गर्ने र १० दिनभित्र अर्को २० हजार मेट्रिक टन युरिया कलकत्ता आइसक्ने उनको भनाइ छ ।