आज हरितालिका तीज पर्व, हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउँदै

२०७९ भाद्र १४ गते प्रकाशित

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व, हरितालिका तीज । देशभरका महिला दिदीबहिनीहरुले हर्षल्लासका साथ मनाउँदैछन।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।