मिटर व्याज पीडित किसानको पीडामा सरकार उदासीन, बिहीबार बालुवाटार घेर्ने तयारी

२०७९ भाद्र १५ गते प्रकाशित

काठमाडौं । मिटर ब्याजी साहुमहाजनबाट पीडित बनेर काठमाडौंमा आन्दोलनरत किसानको माग सरकारले अहिलेसम्म पनि पूरा गर्न सकेको छैन् । काठमाडौंको माइतीघर मण्डलासहित विभिन्न ठाउँमा करिब एक महिनादेखि आन्दोलनमा रहेका पीडित किसान र सरकारबीच वार्ता भए पनि उनीहरुका माग अझै सम्बोधन गर्न सकेको छैन् ।

यसअघि गृह मन्त्रालयले सूचना जारी देशभरका मिटर ब्याज पीडित किसानलाई उजुर दिन आग्रह गरेको थियो भने गृह मन्त्री बालकृष्ण खाँणले पनि मिटर ब्याज पीडित किसानलाई न्याय दिलाउने बताए पनि अहिलेसम्म किसान आन्दोलनमै छन् । आफ्ना माग कार्यान्वयन गराउन मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले आन्दोलनलाई थप शसक्त बनाउँदै लगेको छ । फलस्वरुप, समितिले बिहीबार बालुवाटार घेर्ने भएको छ ।

माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटार अघि पुगेर घेर्ने तयारी भएको समितिले विज्ञप्तीमार्फत जानकारी दिएको छ । संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका लागि बोलिदिन आग्रह गरेका छन् ।

उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।