काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्ने तयारी गरिएको हो ।
सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए । २० भदौपछि मात्रै कहाँ कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।
काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवस्यकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउनेछ ।