काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्ने दुई आपूर्तिकर्ता कम्पनीको पर्फमेन्स ग्यारेन्टी(पीजी) जफत गर्न बाटो खुलेको छ । मल ल्याउन नसकेर कृषि सामग्री कम्पनीको कारबाहीमा परेका देश ट्रेडिङ र जेनट्रेड कम्पनीको विपक्षमा अदालतले फैसला सुनाएपछि उनीहरुबाट पीजी जफत हुने भएको हो ।
बुधबार सर्वोच्च अदालतले ती कम्पनीविरुद्ध फैसला सुनाएकाले कृषि सामग्री कम्पनीलाई पीजी जफत गर्न बाटो खुल्ने छ । ती कम्पनीले कृषि सामग्री कम्पनीलाई विपक्षी बनाइ अदालतमा मुद्धा दायर गरेका थिए । दुई कम्पनीले ग्लोबल टेण्डरमार्फत २५/२५ हजार मेट्रिक टन मल आपूर्ति गर्न ठेक्का पाएका थिए । तर, कोरोना महामारीलगायतका बाहना देखाएर मल नल्याएपछि नेपाली किसानले मलको चर्को अभाव खेप्नुपरेको थियो ।
समयमै मल नल्याएका ती आपूर्तिकर्तामाथि कम्पनीले गत २०७८ जेठ २ मा कारबाही गरेको थियो । त्यसपछि ती कम्पनी अदालत गएका थिए । ती दुई कम्पनीको १०/१० करोड गरी २० करोड पर्फमेन्स ग्यारेन्टीबापत जफत गर्न बाटो खुलेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए । ‘देश ट्रेडिङ र जेनट्रेड कम्पनीको मुद्धा हामीले जितेका छौं । अब उनीहरुबाट १०/१० करोड रुपैयाँ पीजी जफत गर्ने बाटो खुलेको छ ।’ उनले भने ।
कृषि कम्पनीले जमानत जफतका लागि सिफारीस गरेर पत्र मन्त्रालयमा पठाउनेछ ।