डीडीसीले पनि चाडपर्वलक्षित सहुलियत पसलबाट उत्पादनमा छुट दिने

२०७९ भाद्र १८ गते प्रकाशित

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दसैँ तिहारमा सञ्चालन हुने सहुलियत मूल्य पसलबाट छुट दिने भएको छ । आउँदो असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने विभिन्न सहुलियत पसलबाट डीडीसीले आफ्ना उपभोक्तालाइ छुट दिन लागेको हो । साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डीडीसीका बिक्री केन्द्रहरुमार्फत खरिद गर्नेले छुट पाउने छन् ।

कम्पनीका अनुसार घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट हुने भएको छ । हाल घिउ (गाईं र भैंसीको मिश्रण)को मूल्य प्रतिलिटर ११ सय रुपैयाँ र गाईको घिउको मूल्य प्रतिलिटर १२५० रुपैयाँमा डीडीसीले बिक्री गर्दै आएको छ । यसैमा उपभोक्ताले ५० रुपैयाँ छुट पाउने छन् ।

त्यस्तै कम्पनीले हाल चिज प्रतिकिलो १६२० रुपैयाँ, पनिर ८६० रुपैयाँ तथा दही प्रतिलिटर १५० रुपैयाँमा बेच्दै आएको छ । डीडीसीका महाप्रवन्धक सञ्जिव झाले भने ‘गत वर्ष हामीले घिउमा मात्रै छुट दिएका थियौं, यस पटक पनिर, दही, चिजमा पनि पर्याप्त छुट दिने भएका छौं ।’