काठमाडौं । उर्जा मन्त्री पम्फा भूषालले कृषिजन्य वस्तुको बढ्दो आयात रोक्न सिँचाईका लागि विद्युत महशुलमा ७५ प्रतिशतसम्म छुट दिएको बताएकी छन् । उनले कृषिको बढ्दो आयात रोक्ने सरकारको नीतिबमोजिम सिँचाईमा महशुल छुट दिएको बताइन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको आयोजनामा सम्पन्न विद्युत् खपत प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले भनिन, ‘सिँचाइ ७५ प्रतिशत विद्युत महशुल छुट दिएका छौं । यसले कृषिको बढ्दो आयातलाई रोक्ने स्थितिमा पुर्याउने हाम्रो अपेक्षा छ ।’ अब नेपाललाई ‘उज्यालो नेपालको संवाहक’बाट उज्यालो भविष्यबाट बिद्युत भन्ने नारामा परिवर्तन गर्नुपर्ने अवस्था आएको बताइन् । उनले सबैखाले उर्जामा जलविद्युतको प्रयोग गर्न र विद्युत उर्जाले आर्थिक समृद्धि गर्न मद्दत पुग्ने बताइन् ।
उनले पूर्व मन्त्रीहरुले अघि सारेका योजनाहरु आफुले अघि बढाएको बताइन् । विद्युत् उत्पादन गरि निर्यात गर्ने र स्वदेशमा पनि खपत गर्ने उनको भनाई छ । ‘विद्युत निर्यात गर्न र स्वदेशमै खपत गर्ने वातावरण बनाउन लागि परेका छौ । स्वदेशमा मागेजति विजुलि दिन सक्ने र निजीक्षेत्रलाइ प्रोत्साहन गर्ने नीति हाम्रो छ ।’ उनले भनिन ।
सरकारले नै बुढीगण्डकी परियोजना बनाउने भन्दै उनले बुढीगण्डकी कम्पनी दर्ता भएको र यसलाई बहुपक्षीय जलाशय आयोजनाका रुपमा विकास गरिने बताइन् । त्यस्तै, प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षमा विद्यूत्मा आत्मनिर्भर हुने र ५ वर्षमा वार्षिक २ खर्बको बिजुली निर्यात गर्ने महत्वकांक्षी योजना सुनाए ।
उनले गत वर्ष ४ अर्वको र साउनमा मात्रै २ अर्वको बिजुली निर्यात भएको बताए । आगामी पाँच वर्षमा ७ हजार मेगावाट बिजुलि थपिने र सरकारी क्षेत्रबाट मात्रै ५ सय मेगावाट बिजुली ग्रीडमा थपिने बताए। उनले घरायशी सबै कुरामा विद्युतीय उर्जाको उपयोग गर्न आग्रह गरे ।
सो अवसरमा मह जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र राजाराम पौडेल अभिनित विद्युत प्रवर्द्धनात्म भिडियो सामग्री विमोचन गरिएको थियो। विद्युत खपत बढाउन विद्युत्तीय चुल्हो, विद्युत्तीय सवारी, सिँचाई, रासायनिक मल कारखाना निर्माणमा पनि नेपालको विद्युत्को प्रयोग बढाउन प्राधिकरणले आग्रह गरेको छ ।
सो समारोहमा प्राधिकरणको आधिकारीक एनईए मोबाइल एप्सको समेत सुभारम्भ गरिएको छ । उक्त मोबाइल एप्समार्फत बिजुलीको बिल घरमै बसेर तिर्न सकिने, चार्जिङ स्टेशन रहेको स्थान, विद्युत् काटिएमा तत्काल रेस्पोन्स गर्न सकिने गरी निर्माण गरिएको छ ।