दसैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ

२०७९ भाद्र २२ गते प्रकाशित

काठमाडौं । यसवर्षको दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार, दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको उनले जानकारी दिए। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने। यसका लागि यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने सहमति पनि भएको छ ।